होमपेज / अपराध
सल्यान, जेठ २८ ।
सल्यान प्रहरीले विभिन्न मुद्दामा फरार रहेका दुई प्रतिवादीलाई पक्राउ गरेको छ।
प्रहरीले लागुऔषध (ब्राउन सुगर) सम्बन्धी मुद्दाका फरार प्रतिवादी बनगाड कुपिण्डे नगरपालिका–१२ निवासी ४७ वर्षीय दुर्गा सिंह भनिने लालबहादुर रोकालाई पक्राउ गरेको हो। उनलाई आफ्नै घरमा लुकीछिपी बसेको अवस्थामा बिहीबार दिउँसो पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।
सुर्खेत जिल्ला अदालतले २०८१ माघ ९ गते रोकालाई लागुऔषध मुद्दामा दोषी ठहर गर्दै तीन वर्ष कैद तथा ३० हजार रुपैयाँ जरिवानाको फैसला गरेको थियो। लागुऔषध अनुसन्धान ब्युरो सुर्खेत र जिल्ला प्रहरी कार्यालय सल्यानको संयुक्त टोलीले उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक तथा सूचना अधिकारी देवराज भट्टराईले जानकारी दिनुभयो।
पक्राउ परेका रोकालाई आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा पठाइएको प्रहरीले जनाएको छ।
यसैबीच, प्रहरीले जबर्जस्ती करणी उद्योग मुद्दाका फरार प्रतिवादीलाई पनि पक्राउ गरेको छ। पक्राउ पर्नेमा कुमाख गाउँपालिका–२, नेटा बजार निवासी ५५ वर्षीय पहलमान रेग्मी रहेका छन्।
रेग्मीलाई सल्यान सदरमुकाम खलंगाबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनलाई सल्यान जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ।





.jpg)