ट्रेण्डिङ

होमपेज / अपराध

सल्यानमा एक वर्षमा १७ वटा जबर्जस्ती करणीका घटना

  सल्यान खबर डेस्क २०८३ श्रावण १६ गते शनिबार १५:४२:२५ मा प्रकाशित

सल्यानमा एक वर्षको अवधिमा १७ वटा जबर्जस्ती करणीका घटना भएको तथ्यांक सार्वजनिक भएको छ । यस अवधिमा जबर्जस्ती करणी उद्योगमा थप सातवटा घटना भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । 

गत आर्थिक वर्ष ०८२/८३ को तथ्यांकअनुसार जबर्जस्ती करणी र उद्योग गरी २४ घटना घटेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी ईश्वर रोकायले जानकारी दिए। तथ्यांकलाई केलाउँदा यसप्रकारका घटना बढ्नु निकै चिन्ताको विषय भएको बताए । उनले भने, ‘जबर्जस्तीका यति धेरै घटना हुनुमा चेतनाको अभाव रहेको देखिन्छ ।’ 

सानो उमेर समूहदेखि आफन्तबाट नै बढी घटना भएको देखिन्छ । आ.व. ०८१/८२ मा जबर्जस्ती करणीका २० र जबर्जस्ती करणी उद्योगका ६ घटना घटेका थिए । आ.व. ०८१/८२ को तुलनामा गत आवमा जबर्जस्ती करणीमा केही कम देखिए पनि यसप्रकारका  घटना हुनु सबैको चिन्ताको विषय भएको उनको भनाइ छ। 

पछिल्लो समयमा मोबाइल तथा सामाजिक सञ्जालको बढ्दो दुरुपयोग, मानवीय भावनामा कमी तथा चेतनाको अभावलगायतका कारण यसप्रकारका जघन्य घटना भइरहेको प्रहरीको भनाइ छ । समाजमा हुने यस प्रकारका घटना न्यूनीकरण गर्न सल्यान प्रहरीले सामुदायिक तथा विद्यालयकेन्द्रित कार्यक्रम सञ्चालन गर्दै आइरहेको जनाएको छ ।

प्रहरीले एक वर्षको बिचमा जबर्जस्ती करणी, आत्महत्या, बालविवाह, लागुऔषधलगायत विभिन्न शीर्षकमा २५ हजार ७३४ जनालाई सचेतनामूलक सन्देश प्रवाह गरेको रोकायको भनाइ छ  । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top