होमपेज / बिचार / सम्बाद
अति सुन्दर, एक सय आठ वटा झ्याल ढोका रहेको ५५ कोठे सल्यान फलावाङको पुतली दरबार । यो ऐतिहासिक दरबार अहिले तस्बिरमा मात्रै सीमित बन्न पुगेको छ । त्रिवेणी गाउँपालिका वडा नम्बर ४ मा पर्ने फलावाङमा हिजो आज पनि मानिसहरू पुतली दरबार हेर्ने भन्दै मानिसहरू पुग्ने गर्छन् । तर उनीहरूले दरबारको भग्नावशेष बाहेक अन्य केही देख्न पाउँदैनन् । अहिले त दरबारको कुनै पनि नाम निसाना समेत देखिँदैन ।
लक्ष्मीनारायण शाहका जेठा छोरा शमशेर बहादुर शाहले १९० वर्ष भन्दा पहिले बनाएको पुतली दरबारमा इट्टा मात्रै प्रयोग गरिएको थियो । दरबार छाउनको लागी जस्तापाता बेलायत बाट ल्याइएको थियो । दरबारमा गद्दी बैठक, कचहरी बैठक, पूजा कोठा, मोठ कोठा समेत निर्माण गरिएका थिए । दरबार परिसरमा कालिका र शिवालय मन्दिर पनि निर्माण गरिएको थियो । तर यी कुनै पनि संरचना अहिले देख्न सकिँदैन ।
खाम भाषामा फालाबाङको अर्थ लट्ठी राख्ने चौर भनिन्छ अर्थात् फाला भनेको लट्ठी अथवा चुट्ने साधन र वाङ भनेके चौर हो । खाम भाषामा चुचुरोलाई पुथा, गोङ, बुकी भनिन्छ ।्
कुनै बेला थर्कोट फालाबाङ क्षेत्र बसोबासको लागि उपयुक्त स्थल मानिन्थ्यो । गर्मीको समयका दाङदेखि कोट लाग्ने ठाउँको रुपमा पनि फालाबाङ प्रमुख स्थल थियो । कोट लाग्ने समयमा फालाबाङे राजाको दरबार चैते डाँडा वरपर मानिसहरूको बस्तीले भरिएको हुन्थ्यो । दाङदेखि सल्यान, रुकुम, जाजरकोटका भूगोलमा जाने मानिसहरू फलावाङ भएर लुहाम पुग्थे ।
थर्कोटगढीमा अङ्ग्रेजहरूको आक्रमणबाट बच्न फालाबाङे राजाहरूले थर्कोटमा गोलघर निर्माण गरी तोप, ढाल, तरबार र लडाइँमा प्रयोग गर्ने बाजाका सामग्रीहरू राख्ने गर्दथे । कोत भएको स्थानमा सिद्ध रतननाथको समेत पूजा गर्ने परम्परा थियो । थर्कोट चुचुरोबाट दाङ उपत्यका मात्र नभएर बाँके जिल्लाको सिमाना क्षेत्रको चुरे पहाड तिलकानालेक र फिरिङेखोलासम्मको भाग देखिने हुँदा शत्रुहरूसँग बच्न हतियार कोतमा राख्ने गरेका थिए । थर्कोटगढीको कोतमा वैशाख महिनामा पन्चवलि दिने प्रचलन थियो । अहिले थर्केटगढीका पुराना हातहतियार कोत घरमा केही छैनन् । कोट, मौला र मठ मन्दिर राज्यबाट संरक्षण हुन छाडे पछि कतिपय बहुमूल्य बस्तुहरू चोरी भएका छन् ।
कुनै बेला सल्यान बाइसे राज्यभित्र पर्ने राज्य थियो । त्यस बेला सल्यानमा सैन्य परिवारले सोशान्त राज्य चलाएको थियो । नेपाल एकीकरण अभियानमा पृथ्वीनारायण शाहसँग सल्यानका राजा कृष्ण शाहको मित्रता थियो । त्यसैले सल्यानी युवराज रण भीम शाहसँग पृथ्वीनारायण शाहले आफ्नी छोरी विलासकुमारीलाई विवाह गरिदिए । विवाहपछि छिल्ली बिरौजी देखि पश्चिम दाङ क्षेत्रको जमिन छोरीलाई कुशविर्ता दिए । वि.सं. १८६९ भाद्र ३ गते सल्यान पनि नेपालमा एकीकरण भएको थियो । वि.सं. १८९४ मा सल्यानी राजाका वंशज तेजबहादुर शाहलाई राजाको पद र पश्चिम दाङ फलावाङको राज्य प्रदान गरियो । त्यस पछि पश्चिम दाङ र फलावाङ क्षेत्रको शासन फलावाङबाट सुरु हुन थाल्यो । फालावाङी राजाको प्रशासनिक क्षेत्र विशाल थियो । फलावाङका राजाहरू रत्ननाथका भक्त थिए । सिद्ध रत्ननाथलाई उनीहरूले कुल देवताको रुपमा पूजा गर्दथे । त्यसैले फलावाङ दरबारमा पनि रत्ननाथको मन्दिर बनाएका थिए । फालाबाङे राजाहरूले आफ्नो प्रशासन चलाउन सजिलो होस् भन्नको लागि फालाबाङमा पुरानो दरबार, पुतली दरबार, माझ दरबार र नयाँ दरबार समेत गरी पाँच वटा दरबार निर्माण गरेका थिए ।
२०५२ सालसम्म दुई वटा दरबारहरू ऐतिहासिक धरोहरका रुपमा रहेका थिए । दरबार साग जोडिएका अन्य सम्पदाहरू पनि फालाबाङमा थिए । पुरानो दरबारको वास्तुकला पूर्व मध्यकालीन नेपाल उपत्यकाको दरबारको वास्तुकला समान थियो । यसको निर्माण सत्रौँ शताब्दीको आरम्भमा भएको थियो । यो दरबारको निर्माण बाइसे सिंहवशका शासक थिए । दरबारमा झिँगटी र इँटको प्रयोग भएको थियो । अहिले ती संरचना केही छैन । यस आलेखमा प्रयोग भएका फोटाहरू पनि फायल फोटाहरू हुन । अहिले फालाबाङ दरबार परिसरमा रतननाथको मन्दिर, तान्त्रिक विधिले बनाएको थुम्को र मौलोको अवशेष मात्र बाँकी छन् । उपन्थनाथ चाउथे सिद्ध, चौरङीनाथका समाधि र भैरवका थानहरू पनि छैनन् । फलावाङको पुतली दरबार लक्ष्मीनारायण शाहका जेठा छोरा शमशेर बहादुर शाहले आजभन्दा १०३ वर्ष पहिले बनाएका थिए ।
फालाबाङे राजाहरू हात्तीमा यात्रा गर्दथे । हात्तीको लागि तुलसीपुर पात खोला, सिर कुला हुँदै लुहामखोलाको रिगाटे भएर फलावाङ पुग्ने हात्ती र घोडा हिडने बाटो थियो । यी सबै कुरा नयाँ पुस्तालाई इतिहास बनेको छ । फालाबाङका राजा राज्य सञ्चालनको क्रममा ६–६ महिना दाङ र फलावाङ गर्दथे । अहिले फालाबाङको दरबार क्षेत्रको करिब २० रोपनी जमिन गोपिन्द्रबहादुर शाहको नाममा रहेको छ । भत्किएको दरबार र पुराना मठ मन्दिर पुन निर्माण गर्न सरकारले निजी जमिन भएकोले चासो दिएको पाइन्न । फलावाङे राजाका सन्तति अर्थात् जमिनको स्वामित्व जसको नाममा छ उनीहरूले पनि दरबार पुनः निर्माण गर्नेतर्फ चासोको विषय बनाएका छैनन् । फालाबाङे राजाले आजभन्दा ८३ वर्ष पहिले तुलसीपुरमा पाँच विगाह ६ कट्ठा १२ धुर जमिनमा ३५ कोठाको दुई तले दरबार पनि बनाएका थिए । पछि राज्य रजौटा उन्मूलन भएपछि २)२१ सालमा तुलसीपुरको दरबार १ लाख ६५ हजारमा राजा गेहेन्द्र बहादुर शाहले सरकारलाई बिक्री गरेका हुन् । जुन ठाउँमा अहिले प्रदेश अस्पताल रहेको छ ।
ग्रामीण पर्यटनका लागि ऐतिहासिक एवं प्राकृतिक सम्पदा महत्त्वपूर्ण मानिन्छ । आजभोलि फालाबाङ पुग्नेहरू ती ऐतिहासिक दरबारको बारेमा खोजी नीति गर्दछन् । तर उनीहरूले दरबारको भग्न वेश बाहेक अन्य केही देख्न पाउँदैनन् । फलावाङका ती ऐतिहासिक दरबार तहस नहस नगरेको भए अहिले कति ग्रामीण पर्यटकहरू फलावाङ पुग्थे होला ? त्यसबाट कति आय आर्जनको स्रोत हुने थियो होला ? ऐतिहासिक सम्पदा विनाश भयो भने पर्यटनको विकास हुन सक्दैन । पर्यटनको विकास बिना मुलुकको विकास हुँदैन । त्यसैले ऐतिहासिक सम्पदा बचाउनुपर्दछ । फलावाङको पुतली दरबार अहिले संरक्षण हुन नसक्दा गौचरण र खेल मैदानमा परिणत भएको छ । द्वन्द्वको समयमा दरबारको संरक्षण हुन नसकेपछि दरबार क्षतिग्रस्त हुन पुग्यो । संरक्षण हुन नसक्दा दरबारमा कुँदिएका काठका झ्याल ढोका, दलिन, टुँडाल सबै चोरी भएका छन् । संरक्षणका बारेमा चासो नदिँदा पुतली दरबारको आसपासका जग्गा समेत अतिक्रमण हुँदै गएको छ ।
अहिले फालाबाङ कच्ची भए पनि मोटर मार्ग पुगेको छ । लुहाम–फलावाङ यो सडक फालाबाङ हुँदै मखन टाकुरीसम्म पुगेको छ । मखन टाकुरीबाट पाँच मिनेट मात्र यात्रा गरेपछि थर्कोट चुचुरोमा पुग्न सकिन्छ । लुहामबाट फलावाङ दरबार क्षेत्र पुग्न ७ कि.मी यात्रा गरेपछि पुगिन्छ ।
फलावाङलाई ग्रामीण पर्यटकीय स्थलको रुपमा विकास गर्नु पर्दछ । त्यसको लागि फलावाङका ऐतिहासिक दरबारको पुन निर्माण गर्नुपर्दछ । त्यहाँ भएका मन्दिर, कोट र संस्कृति बचाउन जरुरी छ । ऐतिहासिक सम्पदा विनाश भयो भने गाउँको उन्नति हुन सक्दैन । गाउँको उन्नति र प्रगतिले नै ग्रामीण जीवन स्तरको उन्नति हुने हो । यो कुरा सबैले बुझ्mन जरुरी छ ।
स्रोत: त्रिवेणी गाउँपालिकाको वइवसाइट, विभिन्न अनलाइन, तथा पत्रपत्रिका