होमपेज / समाज
वैशाख ९,सल्यान
शारदा नगरपालिकाको गौरवको आयोजनाका रुपमा निर्माण गरिएको आधुनिक बसपार्क उद्घाटन गरिएको छ । सल्यानको प्रमुख व्यापारिक केन्दै श्रीनगरमा निर्माण सम्पन्न भई सञ्चालनमा आइसकेको आधुनिक बसपार्कको बुधबार शारदा नगरपालिकाका मेयर प्रकाश भण्डारीले उद्घाटन गर्नु भएको हो ।
बसपार्कको उद्घाटन गर्दै मेयर भण्डारीले नगरको गौरवको आयोजनाले समग्र जिल्लाको नै प्रतिनिधित्व गरेको बताउनु भयो । उहाँले भन्नु भयो पहिलो बसपार्क अव्यवस्थित हुँदा सकडकै गाडी पार्किङ गर्नु पर्ने अवस्था थियो । जसले बजारको सौन्दर्य नै हराएको थियो । परिणामतः अहिले श्रीनगर बसपार्क आधुनिक, व्यवस्थित र सुविधा सम्पन्न पूर्वाधारका रुपमा स्थापित भएको छ ।
बसपार्क सञ्चालन भएसँगै बजार क्षेत्रका सडक तथा फुटपाथमा अव्यवस्थित रुपमा सञ्चालन हुँदै आएका पसल तथा व्यवसायलाई समृेत बसपार्कभित्र व्यवस्थापन गरिएको छ । बसपार्क सञ्चालनको सम्पूर्ण जिम्मेवारी टेन्डर प्रक्रिया मार्फत शारदा नगरपालिका २ स्थित जय बागेश्वरी कन्ट्रक्सन एन्ड सप्लायर्सले पाएको छ । सम्झौता अनुसार उक्त कम्पनीले शारदा नगरपालिकालाई वार्षिक ५२ लाख रुपैयाँ राजस्व बुझाउने छ ।
आर्थिक वर्ष २०८०/०८१ बाट निर्माण सुरु गरिएको बसपार्क करिब सात हजार वर्गमिटर क्षेत्रफलमा सरकारी पर्ती÷ऐलानी जग्गामा फैलिएको छ । ।
नेपाल सरकार, कर्णाली प्रदेश सरकार र शारदा नगरपालिकाको साझेदारीमा ५ करोड ६० लाखको लागतमा निर्माण गरिएको यो आयोजना नगरपालिकाको प्राथमिकतामा रहेको गौरवको आयोजना हो ।
बसपार्क परिसरमा दुई वटा ३४ कोठे व्यापारिक भवन, ३५ स्टल र ३४सटर सहित विभिन्न संरचना निर्माण गरिएको छ । बसपार्क सञ्चालनमा आएसँगै श्रीनगर बजारको अव्यवस्थित पार्किङ समस्या पनि क्रमशः समाधान हुँदै गएको छ । यसले शहरी व्यवस्थापन सुधार्नुका साथै स्थानीय अर्थतन्त्रमा समेत सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ ।





.jpg)