ट्रेण्डिङ

होमपेज / समाज

कुमाखमा विपद् व्यवस्थापन स्वयंसेवकको क्षमता अभिवृद्धिका लागि चारदिने तालिम

  सल्यान खबर डेस्क २०८३ श्रावण २७ गते बुधबार १०:२०:५५ मा प्रकाशित

सल्यान । कुमाख गाउँपालिकामा पालिकास्तरीय विपद् व्यवस्थापन स्वयंसेवक ब्युरोका सदस्यहरूको क्षमता अभिवृद्धिका लागि चारदिने तालिम सम्पन्न भएको छ। कुमाख गाउँपालिका र नेपाल रेडक्रस सोसाइटीको साझेदारीमा सञ्चालित सुधार (SUDHAR) परियोजनाअन्तर्गत साउन २३ गतेदेखि २६ गतेसम्म तालिम सञ्चालन गरिएको हो।

तालिममा कुमाख गाउँपालिकाका सबै वडाबाट प्रतिनिधित्व हुने गरी २६ जना स्वयंसेवक सहभागी भएका थिए। विपद्का समयमा स्थानीयस्तरमै तत्काल उद्धार तथा प्राथमिक उपचार सेवा उपलब्ध गराउन सक्ने दक्ष जनशक्ति तयार गर्ने उद्देश्यले तालिम आयोजना गरिएको आयोजकले जनाएको छ। कार्यक्रममा नेपाल प्रहरीका एक जना प्रतिनिधिको समेत सहभागिता रहेको थियो।

चारदिने तालिमका क्रममा विपद्का विभिन्न घटनामा अपनाउनुपर्ने उद्धार तथा प्राथमिक उपचारका विधिलाई सैद्धान्तिक ज्ञानमा मात्र सीमित नराखी व्यवहारिक अभ्याससमेत गराइएको थियो। सहभागी स्वयंसेवकलाई बाढीमा फसेका व्यक्तिको उद्धार, घरमा लागेको आगो नियन्त्रण, पानीबाट निभाउन नसकिने आगो नियन्त्रण, भूकम्पपश्चात् घाइतेको उद्धार तथा प्राथमिक उपचारलगायतका विषयमा अभ्यास गराइएको थियो।

त्यस्तै, दुर्घटना तथा विपद्का क्रममा जीवनरक्षा गर्न महत्वपूर्ण मानिने सीपीआर (CPR) सम्बन्धी सैद्धान्तिक तथा व्यावहारिक अभ्याससमेत गराइएको थियो। विपद्को समयमा घटनास्थलमा पुगेर घाइतेको अवस्था पहिचान गर्ने, सुरक्षित रूपमा उद्धार गर्ने र स्वास्थ्य संस्था वा उद्धार टोली नपुग्दासम्म आवश्यक प्राथमिक उपचार प्रदान गर्ने विषयमा स्वयंसेवकलाई अभ्यास गराइएको थियो।

तालिममा भोजराज ओझा, शिवराम खत्री, केशर कुमार गौतम र यदु आचार्यले प्रशिक्षकका रूपमा सहजीकरण गरेका थिए। नेपाल रेडक्रस सोसाइटी कुमाख पालिका शाखा, जिल्ला शाखा तथा कर्णाली प्रदेशबाट सहभागी प्रतिनिधिहरूले समेत स्वयंसेवकलाई आवश्यक मार्गदर्शन र सहजीकरण गरेका थिए।

नेपाल रेडक्रस सोसाइटी कर्णाली प्रदेश कार्यालय प्रमुख राजकुमार क्षेत्रीले स्थानीयस्तरमा विपद्का बेला तत्काल परिचालन हुन सक्ने दक्ष जनशक्ति तयार गर्नु तालिमको मुख्य उद्देश्य रहेको बताउनुभयो। उहाँले विपद्को समयमा उद्धार, प्राथमिक उपचार तथा विपद् प्रतिकार्यसम्बन्धी व्यावहारिक ज्ञान र सीप भएका स्वयंसेवक परिचालन गर्न सके समुदायको विपद् सामना गर्ने क्षमता थप बलियो हुने बताउनुभयो।

तालिमको उद्घाटन कार्यक्रमको अध्यक्षता नेपाल रेडक्रस सोसाइटी कुमाख पालिका शाखाका सचिव भुवनेश्वर शर्माले गर्नुभएको थियो भने प्रमुख अतिथिका रूपमा कुमाख गाउँपालिकाका कार्यवाहक अध्यक्ष लालबहादुर रावत सहभागी हुनुभएको थियो। समापन कार्यक्रमको अध्यक्षता नेपाल रेडक्रस सोसाइटी कुमाख पालिका शाखाका सभापति रामकुमार लामिछानेले गर्नुभएको थियो।

कार्यक्रममा कुमाख गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भूपाल खड्का तथा वन, वातावरण तथा विपद् व्यवस्थापन शाखा प्रमुख जीवन शर्माको सहभागिता रहेको थियो। कार्यक्रमको सहजीकरण तथा सञ्चालनसमेत शाखा प्रमुख शर्माले गर्नुभएको थियो।

वन, वातावरण तथा विपद् व्यवस्थापन शाखा प्रमुख जीवन शर्माले विपद्का बेला बाह्य उद्धार टोली घटनास्थलमा पुग्नुअघि स्थानीयस्तरमै प्रारम्भिक उद्धार र प्राथमिक उपचार गर्न सक्ने जनशक्ति तयार हुनु आवश्यक रहेको बताउनुभयो। उहाँका अनुसार गाउँपालिकाका सबै वडाबाट स्वयंसेवक सहभागी गराएर तालिम सञ्चालन गरिएकाले स्थानीय विपद् प्रतिकार्य प्रणालीलाई थप प्रभावकारी बनाउन सहयोग पुग्नेछ।

तालिमपछि स्वयंसेवकहरूले बाढी, आगलागी, भूकम्पलगायतका विपद्का घटनामा तत्काल प्रारम्भिक उद्धार तथा प्राथमिक उपचार गर्न सक्ने अपेक्षा गरिएको छ। स्थानीयस्तरमा उपलब्ध जनशक्तिलाई विपद् प्रतिकार्यका लागि दक्ष बनाउँदा विपद्को समयमा हुने मानवीय तथा भौतिक क्षति न्यूनीकरण गर्न समेत सहयोग पुग्ने आयोजकको विश्वास छ।

तालिमबाट कुमाख गाउँपालिकाका सबै वडामा विपद्का समयमा तत्काल परिचालन हुन सक्ने स्वयंसेवकको क्षमता अभिवृद्धि हुनुका साथै स्थानीय समुदायको विपद् जोखिम न्यूनीकरण, उद्धार, प्राथमिक उपचार तथा प्रारम्भिक प्रतिकार्य क्षमता थप सुदृढ हुने आयोजकले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top