होमपेज / समाज
सल्यान, २८ साउन ।
कपुरकोट गाउँपालिका वडा नं, ३ स्थित प्रहरी चौकीको जीर्ण भान्सा मर्मतका लागि स्थानीय व्यवसायीले सहयोग गरेका छन् । कपुरकोट ताजा तरकारी व्यवसायी संगठनले प्रहरी चौकीको भान्सा घरको जीर्ण छाना मर्मत तथा भान्सा व्यवस्थापनका लागि आवश्यक सामग्री सहयोग गरेको हो ।
बिहीबार प्रहरी चौकीमा संगठनका अध्यक्ष यज्ञराज बोहरा र कोषाध्यक्ष जुबेर अहमदले प्रहरी चौकीका इन्चार्ज दीपक बस्नेतलाई जस्तापाता, भाँडावर्तन सहितका सामग्री हस्तान्तरण गर्नुभयो । हस्तान्तरण गरिएका सामग्रीको मूल्य ३१ हजार ७ सय ३६ रुपैयाँ रहेको संगठनले जनाएको छ ।
सहयोगमा १८ पाता निलो रंगीन जस्तापाता, १० फिटका प्लेन पाता, काँटी, वासरसहित भान्सा मर्मतका सामग्री छन् । त्यस्तै, भान्सा व्यवस्थापनका लागि ८ लिटर र ५ लिटर क्षमताका दुई थान प्रेसर कुकर, कराही लगायतका आवश्यक भाँडाकुँडा पनि उपलब्ध गराइएको छ ।
संगठनका कोषाध्यक्ष जुबेर अहमदका अनुसार व्यावसायिक सामाजिक उत्तरदायित्व अन्तर्गत चौबीसै घण्टा सेवामा खटिने प्रहरीको कार्यस्थल सुधारमा सहयोग पुर्याउने उद्देश्यले सामग्री उपलब्ध गराइएको हो ।
सहयोग सामग्री बुझ्दै प्रहरी चौकी इन्चार्ज दीपक बस्नेतले स्थानीय व्यवसायीको सहयोगले प्रहरी र नागरिकबीचको सम्बन्ध थप सुदृढ हुनुका साथै प्रहरीको दैनिक कार्यसम्पादनमा समेत सहजता पुग्ने बताउनुभयो ।





.jpg)