ट्रेण्डिङ

होमपेज / बिचार / सम्बाद

विद्यार्थीलाई दिवा खाजा खुवाउन नन्दलाल त्यसपछि कहिल्यै फर्किएनन्

  पदम थापा २०७९ आश्विन ९ गते आइतबार ११:४०:४६ मा प्रकाशित

तत्कालीन कुपिण्डेदह गा बि स वडा नम्बर ६ हालको बनगाड कुपिण्डे  नगरपालिका वडा नम्बर ९ माथिल्लो स्वारामा २०४० सालमा बुबा देवीराम डाँगी र आमा बेलमति डाँगीको कोखबाट कान्छा छोराको रुपमा नन्दलालको जन्म भएको थियो । एस.एल.सी.सम्मको अध्ययन पूरा गरेका नन्दलाल राजनीतिक रुपमा कुनै पनि पार्टीको सदस्यता लिनुभएको थिएन । यद्यपि तत्कालीन नेकपा माओवादीले सञ्चालन गरेको जनयुद्धबाट प्रभावित भई माओवादी नजिक भने रहनु भएको थियो । पारिवारिक आर्थिक अवस्था कमजोर भएको कारणले उहाँ उच्च शिक्षा लिने अवसरबाट वञ्चित हुनु पर्‍यो। तसर्थ घरको आर्थिक सहयोगका लागि गाउँमै रहेको स्थानीय जन कल्याण प्रा. वि. स्वारामा निजी स्रोतबाट दिवा खाजा पकाउने बिद्यार्थीहरुलाई खाजा खुवाउने काममा जोडिनु भएको थियो । सो अवस्थामा २०५९ असोज सात गते सिमखर्क ब्यारेकबाट गएको तत्कालीन शाही नेपाली सेनाको टोलीले दिउँसो १ बजे विद्यालयबाट गिरफ्तार गर्‍यो। गिरफ्तारीपछि चरम शारीरिक र मानसिक यातना दिँदै करिब दुई घण्टा गाउँमा घुमायो । त्यसपछि २,४५ बजेको समय जङ्गलमा एक्कासि तीन फायर राइफलको आवाज सुनिन्छ । त्यही आवाज नै उहाँको अन्तिम दिन हुन गएछ ।

उहाँको गिरफ्तारी र जङ्गलमा पट्किएको बन्दुकको आवाजले स्वारा गाउँमा सन्नाटा छाउँछ, कसैलाई पनि थाहा हुँदैन । दिन ढल्दै जान्छ बेलुकी हुन्छ, रात पर्छ तर घरको कान्छो छोरा फर्कँदैन । बाआमा दाजुभाइ श्रीमती हरकली डाँगी चिन्तित हुन्छन् । गाउँको मानिसबाट एक जना मानिसको बाहुन नोखा जङ्गलमा ओडार नजिकै ढलेको छ कतै उही त होइन नन्दलाल भन्ने खबर आउँछ । सो खबरले सबैमा शङ्का बढ्दै जान्छ । त्यसपछि निजका माइला दाजु  छविलाल डाँगी सहित गाउँका मानिसहरू खोज्न निस्किछन् र त्यस ठाउँमा पुग्छन् । त्यहाँ त उनै भाइ नन्दलाल मृत भइसकेको र रक्ताम्मे अवस्थामा फेला पर्छन् । दुस्मनले हानेको तीन वटा गोली  टाउको, छाती र पेटमा बन्दुकको गोली थियो ।

अहिले उनको परिवारमा श्रीमती र छोरी डोल्मा छन् । नन्दलालको हत्या भएको ठिक एक महिनापछि छोरी डोल्माको जन्म भएको थियो ।

यसरी एक जना निर्दोष होनहार युवाको हत्या भएको थियो । अहिले नन्दलालको सहादत भएको पनि ठिक २० बर्स पूरा भएको छ । छोरी डोल्मा पनि २० वर्षको पुगेकी छिन् । यो बिचमा जनयुद्धको नेतृत्व गरेको पार्टी सरकारमा छ तर सहिदले बगाएको रगतको  मूल्य अझै चुकाउन सकेका छैन । अब पनि सहिद परिवार, घाइते अपाङ्ग, तथा योद्धाहरूले यो दलाल सत्ता र नेतृत्वबाट आफ्नो सपना पूरा हुन्छ भनेर बस्ने बेला छैन । हिजोको सपना पूरा गर्न पुनः  विद्रोह गर्नुपर्ने बेला आएको छ । आज २१औँ स्मृतिका दिनमा सहिद नन्दलालप्रति भावपूर्ण श्रद्धाञ्जली । छोरी डोल्मा र सहिद पत्नी हरकली र समस्त डाँगी परिवारमा गहिरो समवेदना । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top