होमपेज / बिचार / सम्बाद
मानसिक स्वास्थ्य व्यक्तिको समग्र स्वास्थ्यको अभिन्न अङ्ग हो। शारीरिक रूपमा स्वस्थ हुनु मात्र पर्याप्त हुँदैन, मानसिक रूपमा पनि स्वस्थ रहनु उत्तिकै आवश्यक हुन्छ। पछिल्ला वर्षहरूमा नेपालमा मानसिक स्वास्थ्यसम्बन्धी समस्याहरू बढ्दै गएका छन्। तनाव, चिन्ता, दिकदारीपना, सामाजिक एक्लोपन, आर्थिक दबाब, पारिवारिक समस्या तथा बदलिँदो जीवनशैलीका कारण धेरै व्यक्तिहरू मानसिक रूपमा प्रभावित भइरहेका छन्। समयमै मानसिक स्वास्थ्य समस्याको पहिचान र उपचार हुन नसक्दा केही व्यक्तिहरू आत्महत्याजस्तो दुःखद निर्णयसम्म पुग्ने अवस्था सिर्जना हुने गरेको छ।
आत्महत्या कुनै एक मात्र कारणले हुने घटना होइन। यो जैविक, मनोवैज्ञानिक, सामाजिक तथा आर्थिक कारणहरूको संयुक्त परिणाम हो। मानसिक स्वास्थ्य समस्या, विशेषगरी दिकदारिपना, चिन्ता, मादक पदार्थको दुरुपयोग तथा अन्य मानसिक रोगहरूले आत्महत्याको जोखिम बढाउँछन्। त्यसैगरी अत्यधिक तनाव, पारिवारिक कलह, आर्थिक अभाव, बेरोजगारी, गरिबी, ऋणको बोझ, परीक्षामा असफलता, वैवाहिक समस्या, प्रेम सम्बन्धमा आएको असमझदारी, घरेलु हिंसा, सामाजिक विभेद, सामाजिक एक्लोपन तथा नजिकको व्यक्तिको मृत्यु वा बिछोडजस्ता घटनाले पनि व्यक्तिलाई गम्भीर मानसिक संकटमा पुर्याउन सक्छ।
आजको डिजिटल युगमा सामाजिक सञ्जालको अत्यधिक प्रयोग पनि मानसिक स्वास्थ्यका लागि चुनौती बनेको छ। अरूसँग आफ्नो जीवन तुलना गर्ने, नकारात्मक टिप्पणीहरू पढ्ने, साइबर बुलिङको सामना गर्ने, लामो समय मोबाइल र इन्टरनेटमा व्यस्त रहने तथा प्रत्यक्ष सामाजिक सम्बन्ध कम हुँदै जानुले व्यक्तिमा एक्लोपन, निराशा र आत्मसम्मानमा कमी ल्याउन सक्छ। त्यसैगरी अस्वस्थ खानपान, पर्याप्त निद्राको अभाव, नियमित व्यायाम नगर्ने बानी, अत्यधिक कामको दबाब तथा विश्रामको कमीले पनि मानसिक स्वास्थ्यमा प्रत्यक्ष असर पार्दछ।
धेरै व्यक्तिहरूले आफ्नो मनको पीडा, दुःख वा तनाव अरूसँग व्यक्त नगरी मनमै दबाएर राख्ने गर्छन्। "अरूले के भन्लान्", "मलाई कमजोर ठान्लान्" वा "मेरो समस्या कसैले बुझ्दैन" भन्ने सोचका कारण उनीहरू सहयोग माग्न हिच्किचाउँछन्। यही मौन पीडा विस्तारै गहिरो मानसिक तनावमा परिणत हुन सक्छ। त्यसैले मनमा भएका भावना, दुःख, चिन्ता वा समस्या विश्वासिलो साथी, परिवारका सदस्य,
शिक्षक, स्वास्थ्यकर्मी वा मनोसामाजिक परामर्शदातासँग खुलेर साझा गर्नु अत्यन्त आवश्यक हुन्छ। समयमै गरिएको एउटा आत्मीय संवादले पनि व्यक्तिको जीवनमा ठूलो परिवर्तन ल्याउन सक्छ।
आत्महत्या न्यूनीकरणका लागि व्यक्ति, परिवार, विद्यालय, समुदाय, स्वास्थ्य संस्था तथा राज्य सबैको समान जिम्मेवारी हुन्छ। परिवारभित्र खुला संवाद, आपसी विश्वास, माया, सम्मान र सहयोगको वातावरण निर्माण गर्नुपर्छ। परिवारका सदस्यहरूले एकअर्काको व्यवहारमा आएको परिवर्तनलाई ध्यान दिनुपर्छ र आवश्यक परेमा साथ र सहयोग गर्नुपर्छ। विद्यालयहरूमा मानसिक स्वास्थ्य शिक्षा, जीवन उपयोगी सीप, तनाव व्यवस्थापन तथा मनोसामाजिक सहयोगका कार्यक्रम नियमित रूपमा सञ्चालन गरिनुपर्छ। कार्यस्थलहरूमा पनि मानसिक स्वास्थ्यमैत्री वातावरण सिर्जना गरी कर्मचारीहरूको मानसिक स्वास्थ्यको ख्याल गर्न आवश्यक छ।
मानसिक स्वास्थ्यलाई राम्रो बनाउन स्वस्थ जीवनशैली अपनाउनु पनि उत्तिकै महत्वपूर्ण छ। सन्तुलित र पोषणयुक्त भोजन, पर्याप्त निद्रा, नियमित शारीरिक व्यायाम, योग, ध्यान, मनोरञ्जनात्मक गतिविधिमा सहभागिता, सामाजिक सम्बन्ध विस्तार तथा सामाजिक सञ्जालको आवश्यकता अनुसार मात्र प्रयोग गर्ने बानीले मानसिक स्वास्थ्यमा सकारात्मक प्रभाव पार्छ। साथै, मदिरा, लागुऔषध तथा अन्य नशालु पदार्थको दुरुपयोगबाट टाढा रहनुपर्छ।
आत्महत्याको जोखिममा रहेका व्यक्तिमा केही चेतावनी संकेतहरू देखिन सक्छन्। निरन्तर निराश देखिनु, अत्यधिक तनावमा रहनु, आफू निरर्थक भएको अनुभूति व्यक्त गर्नु, एक्लै बस्न खोज्नु, दैनिक गतिविधिप्रति रुचि हराउनु, निद्रा र खानपानमा ठूलो परिवर्तन आउनु, "अब बाँचेर के गर्नु", "म मरे राम्रो हुन्छ" जस्ता अभिव्यक्ति दिनु, आफ्ना सामानहरू बाँड्न थाल्नु वा आत्महत्याको योजना बनाएको संकेत देखाउनु जस्ता व्यवहारलाई सामान्य रूपमा लिनु हुँदैन। यस्ता संकेत देखिएमा व्यक्तिलाई दोष दिने, आलोचना गर्ने वा बेवास्ता गर्ने होइन, बरु धैर्यपूर्वक सुन्ने, समानुभूतिपूर्वक साथ दिने र तुरुन्तै मनोसामाजिक परामर्श वा मानसिक स्वास्थ्य सेवासँग जोड्ने प्रयास गर्नुपर्छ।
समुदायस्तरमा मानसिक स्वास्थ्यसम्बन्धी जनचेतना अभिवृद्धि गर्नु, मानसिक रोगप्रतिको भ्रम र कलंक (Stigma) हटाउनु, परामर्श सेवामा सहज पहुँच सुनिश्चित गर्नु तथा आवश्यक परेमा विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराउनु अत्यन्त आवश्यक छ। मानसिक स्वास्थ्य समस्यालाई लुकाउने वा लाजको विषय बनाउने होइन, अन्य शारीरिक रोगसरह समयमै उपचार गर्नुपर्ने स्वास्थ्य अवस्थाका रूपमा बुझ्नुपर्छ।
अन्ततः आत्महत्या रोकथाम सम्भव छ। समयमै समस्या पहिचान गर्ने, मनका कुरा खुलेर साझा गर्ने, परिवार र समुदायबाट साथ र सहयोग प्राप्त गर्ने तथा आवश्यक परेमा मानसिक स्वास्थ्य सेवा लिने हो भने धेरै अमूल्य जीवनहरू बचाउन सकिन्छ। हामी प्रत्येकले आफ्नो परिवार, साथीभाइ, छिमेकी तथा समुदायका व्यक्तिहरूको मानसिक अवस्थाप्रति संवेदनशील भएर सहयोगको हात बढाउनु आवश्यक छ। एउटा आत्मीय संवाद, एउटा समानुभूतिपूर्ण व्यवहार र समयमै गरिएको उचित सहयोगले कसैको जीवन बचाउन सक्छ।
"मानसिक स्वास्थ्यको ख्याल गरौँ, मनका कुरा खुलेर साझा गरौँ, समयमै सहयोग खोजौँ र आत्महत्या न्यूनीकरणमा सबै मिलेर योगदान दिऔँ।"
दोर्णकुमार यरी
मनोसामाजिक परामर्शकर्ता
सी. एम. सी. नेपाल
बारेकोट, जाजरकोट





.jpg)