होमपेज / समाज
बाढीका कारण रसुवामा सम्पर्कविहीन भएका सल्यानका नागरिकको खोजीका लागि स्थानीय तहका जनप्रतिनिधि आफन्तसहित प्रभावित क्षेत्रमा पुगेका छन्।
रोजगारी तथा मजदुरीका लागि रसुवा पुगेका सल्यानका नागरिक बाढीपछि सम्पर्कविहीन भएपछि सम्बन्धित पालिकाका जनप्रतिनिधि आफन्तलाई समेत साथमा लिएर प्रभावित क्षेत्रमा पुगेका हुन्। सल्यानका १० स्थानीय तहमध्ये आठ स्थानीय तहका नागरिक रोजगारी तथा मजदुरीका लागि रसुवा पुगेको बताइएको छ।
भदौ १० गते आएको ठुलो बाढीले रसुवाका विभिन्न क्षेत्रमा जनधनको क्षति पुर्याएपछि त्यहाँ रहेका सल्यानका धेरै नागरिकसँग सम्पर्क हुन सकेको छैन। सम्पर्कविहीन नागरिकको अवस्था पत्ता लगाउन स्थानीय तहले आफ्नै पहलमा खोजी तथा सम्बन्धित निकायसँग समन्वयको काम अघि बढाएका छन्।
कपुरकोट गाउँपालिकाका अध्यक्ष दुर्गाबहादुर पुनसहितको टोली सम्पर्कविहीन नागरिकको खोजीका लागि प्रभावित क्षेत्रमा पुगेको छ। अध्यक्ष पुनका अनुसार कपुरकोट गाउँपालिकाका मात्रै १४ जना नागरिक बाढीपछि सम्पर्कविहीन भएका छन्।
सम्पर्कविहीन नागरिकको खोजीका लागि नुवाकोटसम्म पुगे पनि हालसम्म उनीहरूको अवस्था पत्ता लगाउन नसकिएको अध्यक्ष पुनले बताए। उनका अनुसार अस्पतालदेखि बाढी प्रभावित क्षेत्रसम्म पुगेर खोजतलास गरिए पनि आफ्ना नागरिकको अवस्था पत्ता लाग्न सकेको छैन। त्रिवेणी गाउँपालिकाका अध्यक्ष खिमबहादुर रावतले सम्पर्कविहीन नागरिकका आफन्तलाई समेत साथमा लिएर सम्भावित स्थानमा खोजी गर्ने, सम्बन्धित निकायसँग समन्वय गर्ने तथा उपलब्ध सूचनाका आधारमा नागरिकको अवस्था पत्ता लगाउने प्रयास भइरहेको बताए।
उनका अनुसार त्रिवेणी गाउँपालिकाका आठजना नागरिक सम्पर्कविहीन भएका छन्। तीन दिनदेखि खोजतलास गरिए पनि हालसम्म उनीहरूको अवस्था पत्ता लगाउन नसकिएको अध्यक्ष रावतको भनाइ छ।
बाढीपछि रोजगारीका लागि घरबाट टाढा पुगेका आफ्ना नागरिक सम्पर्कविहीन भएपछि परिवारमा चिन्ता बढेको छ। लामो समयसम्म सम्पर्क हुन नसकेपछि आफन्तहरू आफ्ना मान्छेको अवस्था बुझ्न प्रभावित क्षेत्रमा पुग्ने क्रमसमेत बढेको छ।
सल्यानका बनगाड कुपिन्डे नगरपालिका शारद नगरपालिका, कुमाख गाउँपालिकालगायतका स्थानीय तहका जनप्रतिनिधिसमेत आफ्ना पालिकाका सम्पर्कविहीन नागरिकको खोजीका लागि बाढी प्रभावित क्षेत्रमा पुगेका छन्। उनीहरूले स्थानीय प्रशासन, सुरक्षा निकाय, उद्धार टोली तथा प्रभावित क्षेत्रमा रहेका स्थानीयसँग समन्वय गर्दै नागरिकको खोजी गरिरहेका छन्।
जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार बागचौर नगरपालिकाका एक, कालीमाटी गाउँपालिकाका दुई, कपुरकोट गाउँपालिकाका १४, त्रिवेणी गाउँपालिकाका नौ, शारदा नगरपालिकाका पाँच, कुमाख गाउँपालिकाका ६, बनगाड कुपिन्डे नगरपालिकाका १० र सिद्ध कुमाख गाउँपालिकाका दुईजना गरी ५१ जना सम्पर्कविहीन भएका छन्।





.jpg)