होमपेज / समाज
नजिकिँदै गरेका चाडपर्वलाई लक्षित गर्दै सल्यानमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ। यात्रुहरूको सुरक्षित यात्रा सुनिश्चित गर्ने, यात्राका क्रममा हुन सक्ने ठगी, बढी भाडा असुली तथा दुर्व्यवहार रोक्ने उद्देश्यले जिल्लाका चार स्थानमा सहायता कक्ष स्थापना गरिएको हो।
जिल्ला प्रहरी कार्यालय सल्यान र जिल्ला ट्राफिक प्रहरी कार्यालय सल्यानको पहलमा शारदा नगरपालिका–१ स्थित श्रीनगर बसपार्क नजिक, बनगाड कुपिण्डे नगरपालिका–१ को सल्लीबजार, बागचौर नगरपालिका–२ को थारमारे र कपुरकोट गाउँपालिका–३ को कपुरकोटमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय सल्यानका प्रमुख जयराम घर्तीका अनुसार यात्रु सहायता कक्षमार्फत यात्रुहरूलाई सहज, सुरक्षित र भरपर्दो यात्रा गर्न आवश्यक सहजीकरण गरिनेछ। तोकिएको भाडादरभन्दा बढी भाडा असुली हुन नदिन, यात्राका क्रममा हुन सक्ने ठगी तथा दुर्व्यवहार रोक्न र यात्रुका गुनासा तथा समस्याको तत्काल सम्बोधन गर्न सहायता कक्षले भूमिका निर्वाह गर्ने उहाँले जानकारी दिनुभयो।
चाडपर्वका समयमा सार्वजनिक सवारी साधनमा यात्रुको चाप बढ्ने भएकाले यात्रुलाई हुन सक्ने सम्भावित समस्या न्यूनीकरण गर्न सहायता कक्ष स्थापना गरिएको प्रहरीले जनाएको छ।
प्रहरीले यात्राका क्रममा तोकिएको भाडादरअनुसार मात्र भाडा तिर्न, अपरिचित व्यक्तिको प्रलोभनमा नपर्न तथा आफ्ना महत्त्वपूर्ण सामानको सुरक्षामा ध्यान दिन यात्रुहरूलाई आग्रह गरेको छ।
यात्राका क्रममा बढी भाडा असुली, ठगी, दुर्व्यवहार वा अन्य कुनै समस्या भएमा नजिकैको यात्रु सहायता कक्षमा सम्पर्क गर्न प्रहरीले अनुरोध गरेको छ। साथै, तत्काल सहयोग आवश्यक परेमा नेपाल प्रहरीको आपत्कालीन नम्बर १०० वा ट्राफिक प्रहरीको नम्बर १०३ मा फोन गरी जानकारी गराउन सकिने जिल्ला ट्राफिक प्रहरी कार्यालय सल्यानले जनाएको छ।





.jpg)