ट्रेण्डिङ

होमपेज / समाज

चाडपर्व लक्षित चेकजाँचमा सल्यानमा ११ चालक कारबाहीमा

  सल्यान खबर डेस्क २०८३ आश्विन २१ गते बुधबार ११:४९:४१ मा प्रकाशित

चाडपर्व लक्षित सुरक्षित यात्रा अभियानअन्तर्गत सल्यानको थारमारेमा १२९ वटा सवारी साधनका चालकको लागू पदार्थ तथा मादक पदार्थ सेवन परीक्षण गरिएको छ। परीक्षणका क्रममा ट्राफिक नियम उल्लंघन गर्ने ११ जना चालकलाई कारबाही गरिएको प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय थारमारे र जिल्ला ट्राफिक प्रहरी कार्यालय सल्यानको संयुक्त आयोजना तथा प्राथमिक स्वास्थ्य केन्द्र थारमारेबाट खटिएका स्वास्थ्यकर्मीसहितको टोलीले बागचौर नगरपालिका–२, थारमारेस्थित राप्ती राजमार्गमा सवारी चालकको चेकजाँच गरेको हो।

प्रहरीका अनुसार लागू पदार्थ सेवन (ला.प.से.) तर्फ तीन जना चालकको परीक्षण गरिएकोमा कसैलाई कारबाही गरिएको छैन। मादक पदार्थ सेवन (मा.प.से.) तर्फ ८४ जनाको परीक्षण गर्दा तीन जना मोटरसाइकल चालक कारबाहीमा परेका छन्।

त्यस्तै, अन्य ट्राफिक नियमसम्बन्धी चेकजाँचका क्रममा ४२ वटा सवारी साधनमध्ये आठ वटा कारबाहीमा परेका छन्। कारबाहीमा चार मोटरसाइकल, एक ट्र्याक्टर, दुई ट्रक र एक अटो रहेका छन्।

चाडपर्वका समयमा सवारी चाप बढ्ने भएकाले दुर्घटना न्यूनीकरण, ट्राफिक नियमको प्रभावकारी कार्यान्वयन तथा चालकलाई जिम्मेवार र सुरक्षित रूपमा सवारी सञ्चालन गर्न सचेत गराउने उद्देश्यले अभियान सञ्चालन गरिएको प्रहरीले जनाएको छ।

प्रहरीले मादक तथा लागू पदार्थ सेवन गरी सवारी नचलाउन, तीव्र गतिमा सवारी नहाँक्न र ट्राफिक नियमको पूर्ण पालना गर्न चालकलाई आग्रह गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top