होमपेज / समाज
सल्यानमा आगामी केही दिन भारी वर्षाको सम्भावना रहेकाले जिल्ला प्रशासन कार्यालयले उच्च सतर्कता अपनाउन जिल्लावासीलाई आग्रह गरेको छ।
नेपाल मौसम विज्ञान विभागले जारी गरेको विशेष मौसमी सूचनाका आधारमा असोज ८ गते शुक्रबारदेखि असोज ११ गते आइतबारसम्म देशभर वर्षाको सम्भावना रहेको जनाइएको छ। विशेषगरी सल्यानलगायतका क्षेत्रमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारी वर्षा हुनसक्ने भएकाले सम्भावित जोखिमबाट बच्न प्रशासनले अनुरोध गरेको हो।
जिल्ला प्रशासन कार्यालय सल्यानले बुधबार सूचना जारी गर्दै भारी वर्षाका कारण भू–क्षय, बाढी, पहिरो तथा गेग्रान बहावको जोखिम बढ्न सक्ने जनाएको छ। जिल्लाका नदी, नाला तथा खोलाहरूमा पानीको सतह बढ्न गई दैनिक जनजीवन, कृषि, स्वास्थ्यलगायतका क्षेत्रमा असर पर्न सक्ने प्रशासनको भनाइ छ। यस्तै सडक तथा बाटोघाटो, सार्वजनिक यातायात र निर्माणाधीन संरचनासमेत प्रभावित हुनसक्ने भएकाले सबैलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।
प्रशासनले नदी तथा खोला किनार, पहिरोको जोखिम भएका भू–भाग, चिरा परेको जमिन तथा डुबान हुनसक्ने क्षेत्रमा विशेष सावधानी अपनाउन भनेको छ। जोखिमको संकेत देखिएमा समयमै नजिकको सुरक्षित स्थानमा जान तथा स्थानीय तह र सुरक्षा निकायसँग समन्वय गर्न आग्रह गरिएको छ।
त्यस्तै, अति आवश्यक अवस्थाबाहेक लामो दूरी तथा रातको समयमा यात्रा नगर्न र यात्रा गर्नुअघि सडक तथा मौसमको अवस्थाबारे जानकारी लिन प्रशासनले अनुरोध गरेको छ। बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, गर्भवती तथा बिरामीको सुरक्षामा विशेष ध्यान दिनसमेत आग्रह गरिएको छ।
प्रशासनले पशुचौपाया, खाद्यान्न, औषधि, महत्वपूर्ण कागजात तथा अन्य आवश्यक सामग्री सुरक्षित स्थानमा राख्न भनेको छ। नेपाल मौसम विज्ञान विभाग, संघीय तथा प्रदेश सरकार, स्थानीय तह र सुरक्षा निकायबाट जारी हुने आधिकारिक सूचना नियमित रूपमा लिन र निर्देशनको पालना गर्न पनि आग्रह गरिएको छ।
जिल्ला प्रशासन कार्यालयले स्थानीय तह, सुरक्षा निकाय, विषयगत कार्यालय, राजनीतिक दल, नागरिक समाज, सञ्चारमाध्यम तथा सम्बन्धित सबै सरोकारवालालाई आ–आफ्नो क्षेत्रबाट पूर्वतयारी तथा उच्च सतर्कताका लागि सूचना प्रवाह, समन्वय र सहजीकरण गर्न अनुरोध गरेको छ।
आपत्कालीन अवस्थामा वर्षा तथा बाढीसम्बन्धी जानकारीका लागि ११५५, नेपाल प्रहरी १००, विपद् सहायता १२३४, सशस्त्र प्रहरी बल १११४ तथा जिल्ला आपत्कालीन केन्द्र (DEOC) १२३४ मा सम्पर्क गर्न सकिने प्रशासनले जनाएको छ।





.jpg)