ट्रेण्डिङ

होमपेज / समाज

सल्यानमा म्याद गुज्रिएका करिब ४५ हजार रुपैयाँ बराबरका सामान नष्ट

  सल्यान खबर डेस्क २०८३ आश्विन २७ गते मंगलबार २०:०२:२३ मा प्रकाशित

 

चाडपर्वलाई लक्षित गर्दै त्रिवेणी गाउँपालिकाले विभिन्न बजार क्षेत्रमा गरेको अनुगमनका क्रममा म्याद गुज्रिएका तथा प्रयोग गर्न नमिल्ने करिब ४५ हजार रुपैयाँ बराबरका सामग्री बरामद गरी नष्ट गरेको छ।

मंगलबार गाउँपालिकाको मुख्य बजार क्षेत्र लुहाम, शितलबजार, ढुंगीबजार, रिखे, काभ्रा, सल्लेखोला तथा टुनिबोटमा रहेका खाद्यान्न, कस्मेटिक पसल, होटललगायतका व्यवसायमा अनुगमन गरिएको थियो ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत धनीप्रसाद खड्का, प्रवक्ता एवं वडा नं. ४ का वडा अध्यक्ष छविराज शर्मा, गाउँपालिकाका कर्मचारी तथा इलाका प्रहरी कार्यालयका प्रतिनिधिहरू सम्मिलित टोलीले अनुगमन गरेको थियो।

अनुगमनका क्रममा म्याद गुज्रिएका तथा प्रयोग गर्न नमिल्ने कस्मेटिक सामग्री, कोल्ड ड्रिंक्स, एग्रोभेटका सामग्री, औषधि, दालमोठ, भुजालगायतका वस्तु बरामद गरिएको थियो। बरामद सामग्री इलाका प्रहरी कार्यालयका प्रतिनिधि, स्थानीय व्यापारी तथा कर्मचारीहरूको रोहवरमा नष्ट गरिएको गाउँपालिकाले जनाएको छ।

उपभोक्ताको स्वास्थ्य र हित संरक्षण, गुणस्तरीय वस्तु तथा सेवाको उपलब्धता सुनिश्चित गर्न तथा बजारमा हुने सम्भावित अनियमितता नियन्त्रण गर्ने उद्देश्यले अनुगमन गरिएको हो। गाउँपालिकाले व्यवसायीहरूलाई म्याद गुज्रिएका सामग्री बिक्रीवितरण नगर्न, सरसफाइ कायम राख्न र उपभोक्तालाई गुणस्तरीय वस्तु उपलब्ध गराउन आग्रह गरेको छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top