होमपेज / समाज
सल्यान । कुमाख गाउँपालिकाले प्राकृतिक विपद्का कारण प्रभावित नागरिकको उद्धार तथा राहतका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ लाख ५० हजार रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको छ।
गाउँपालिकाको कार्यपालिका बैठकले बाढी तथा प्राकृतिक विपद्बाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै प्रभावित परिवारलाई सहयोग गर्ने उद्देश्यले उक्त रकम कोषमा जम्मा गर्ने निर्णय गरेको हो।
गाउँपालिकाका अनुसार २०८३ भदौ १० गते रसुवा तथा आसपासका क्षेत्रमा भोटेकोशी नदीमा अचानक आएको भीषण बाढीका कारण ठूलो जनधनको क्षति भएको घटनाप्रति गाउँपालिकाले दुःख व्यक्त गरेको छ। बाढीका कारण ज्यान गुमाएका तथा प्रभावित परिवारप्रति समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभ र प्रभावितहरूको सुरक्षित पुनःस्थापनाको कामना गरिएको छ।
विपद्का कारण सम्पर्कविहीन तथा बेपत्ता भएका व्यक्तिको खोजी, घाइतेको उपचार र विस्थापितहरूको सुरक्षित पुनःस्थापनाका लागि सम्बन्धित सबै सरोकारवालालाई सहयोग गर्न गाउँपालिकाले आग्रहसमेत गरेको छ।
कुमाख गाउँपालिकाका कार्यवाहक अध्यक्ष लालबहादुर रावतद्वारा जारी विज्ञप्तिमा विपद्को यस कठिन समयमा प्रभावित परिवारलाई धैर्यधारण गर्न आग्रह गर्दै गाउँपालिकाको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. २ लाख ५० हजार आर्थिक सहयोग गर्ने निर्णय भएको उल्लेख छ।





.jpg)