होमपेज / समाज
१० भाद्र २०८३, सल्यान
बालविवाह, किशोरावस्थामा हुने गर्भाधारण तथा विद्यालय छाड्ने अवस्था सम्बन्धी दुइदिने कार्यशाला गोष्ठी सल्यानको लुहाममा सम्पन्न भएको छ ।
त्रिवेणी गाउँपालिका सल्यानको आयोजना तथा आईपास नेपाल र दलित विकास समाज सल्यानको सहकार्यमा आयोजित कार्यक्रममा बालविवाहका कारण उत्पन्न हुने सामाजिक तथा स्वास्थ्य समस्या, किशोरावस्थामा हुने गर्भाधारण र त्यसले पार्ने असर साथै विद्यार्थीको विद्यालय शिक्षामा निरन्तरता लगायतका विषयमा छलफल गरिएको थियो ।
कार्यक्रममा त्रिवेणी गाउँपालिका अध्यक्ष खिम बहादुर रावत, वडा नं। १ का वडाध्यक्ष दल बहादुर बस्नेत, ४ का अध्यक्ष छबिराज शर्मा, निमित्त प्रमुख प्रशासकीय अधिकृत तिलक रावल लगायत गाउँपालिकाका विभिन्न शाखाका प्रमुख तथा कर्मचारीहरूको सहभागिता रहेको थियो। त्यस्तै कार्यक्रममा विद्यार्थी, शिक्षक, आमा समूहका प्रतिनिधि तथा महिला स्वास्थ्य स्वयंसेविका लगायत सरोकारवालाहरूको समेत उपस्थिति रहेको थियो ।
कार्यक्रममा डि डि यस सल्यानका परियोजना संयोजक तोरण बुढाथोकीले बालविवाह, किशोरावस्थाको गर्भाधारण तथा विद्यालय छाड्ने अवस्थाका विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो । उहाँले बालविवाह तथा किशोरावस्थाको गर्भाधारणले बालबालिकाको स्वास्थ्य, शिक्षा र भविष्यमा पार्न सक्ने असर बारे जानकारी गराउनुभएको थियो । यसै गरी त्रिवेणी गाउँपालिका स्वास्थ्य शाखाकी जनस्वास्थ्य नर्स कल्पना बुढा मगरले समग्र पालिकाको बालविवाह, किशोरावस्थामा भएका गर्भाधारण तथा विद्यालय छाड्नेहरूको तथ्यांक सहितको प्रतुतिकरण गर्नु भएको थियो । दुइ दिने कार्यक्रमको सहजिकरण आईपास नेपालका प्रदेश संयोजक निर्मला भण्डारी, डि डि यस सल्यानकै परियोजना संयोजक लोक बहादुर बि।क।, त्रिवेणी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख प्रभात कुमार श्रेष्ठले लगाएतले गर्नु भएको थियो ।
सहजीकरणको क्रममा त्रिवेणी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख प्रभात कुमार श्रेष्ठलेले किशोरकिशोरीको योन तथा प्रजनन स्वास्थ्य र बालविवाह न्यूनीकरणका लागि परिवार, विद्यालय, समुदाय र स्थानीय सरकार बीचको सहकार्य आवश्यक रहेकोमा जोड दिनुभयो ।
उक्त कार्यशाला गोष्ठीमा बालविवाह, किशोरावस्थामा हुने गर्भाधारण तथा विद्यालय छाड्ने अवस्था सम्बन्धी त्रिवेणी गाउँपालिकाको नीतिगत व्यवस्था, उक्त नीतिहरूको कार्यान्वयनको अवस्था, बालविवाह, किशोरावस्थामा हुने गर्भाधारण तथा विद्यालय छाड्नेहरूको अध्याबधिक तथ्यांक, बिभिन्न सरोकारवालाहरूसँगको सहकार्य, अनुगमन मूल्यांकनको अबस्था, किशोरकिशोरी योन तथा प्रजनन स्थास्थ्य सम्बन्धी सेवाहरूको पहुँच तथा उपलव्धता लगाएतका बिषयमा पालिकाको हालको वस्तुस्थितिको बारेमा छलफल गर्दै बालविवाह, किशोरावस्थामा हुने गर्भाधारण तथा विद्यालय छाड्ने अवस्थाको सुधार गर्नका लागी कार्ययोजना तयार गरिएको थियो ।
कार्यक्रममा सहभागीहरूले बालविवाह तथा किशोरावस्थाको गर्भाधारण रोकथामका लागि समुदायस्तरमै सचेतना बढाउनु पर्ने र विभिन्न कारणले विद्यालय छाड्ने विद्यार्थीलाई पुनः शिक्षामा जोड्न सरोकारवाला निकायले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने बताएका थिए ।
कार्यशालाले बालविवाह न्यूनीकरण, किशोरकिशोरीको स्वास्थ्य तथा शिक्षाको अधिकार सुनिश्चित गर्दै विद्यालय छाड्ने दर घटाउन स्थानीय तह, विद्यालय, अभिभावक र समुदायबीच सहकार्यलाई थप प्रभावकारी बनाउने उद्देश्य राखेको आयोजकले जनाएको छ ।





.jpg)