होमपेज / समाज
सल्यानमा पछिल्ला दिनहरूमा वायु प्रदूषण उल्लेख्य रूपमा बढ्दै जाँदा बिरामीको संख्या पनि बढ्न थालेको छ। वातावरणमा धुलो–धुवाँ तथा सूक्ष्म कण (PM2.5/PM10) को मात्रा बढ्दा जनस्वास्थ्यमा प्रत्यक्ष असर परिरहेको छ। रुघाखोकी, दम, श्वासप्रश्वाससम्बन्धी समस्या तथा आँखामा जलन जस्ता लक्षण लिएर स्वास्थ्य संस्थामा पुग्ने बिरामीहरूको संख्या बढ्दै गएको देखिएको छ।
वातावरण विभागको तथ्यांकअनुसार पछिल्लो २४ घण्टाको औसत वायु गुणस्तर सूचकांक (AQI) मा सुर्खेत पहिलो स्थानमा परेको छ। वायु गुणस्तर मापदण्डअनुसार सुर्खेतसहित देशका धेरै सहरहरूको वायु गुणस्तर अस्वस्थ तहमा पुगेको छ भने, सुर्खेत सबैभन्दा बढी प्रदूषित सहरका रूपमा देखिएको छ।
बिहान ७:२१ बजेसम्मको तथ्यांक अनुसार पछिल्लो २४ घण्टाको औसत AQI १८४ पुगेको छ, जुन काठमाडौंको रत्नपार्क क्षेत्रको १७२ भन्दा उच्च रहेको छ।
यस अवस्थालाई मध्यनजर गर्दै स्थानीय तहहरूले सर्वसाधारणलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेका छन्। कुमाख गाउँपालिकाले नियमित रूपमा सूचना सम्प्रेषण गर्दै नागरिकलाई सचेत बनाउने कार्यलाई तीव्रता दिएको छ।
पालिकाका वन, वातावरण तथा विपद् व्यवस्थापन शाखा प्रमुख जिवन शर्माका अनुसार हाल देखिएको वायु प्रदूषणको अवस्था वन डढेलो, कृषि अवशेष जलाउने चलन, सवारी साधनबाट निस्कने धुलो–धुवाँ तथा सीमापारबाट आउने प्रदूषित हावाको संयुक्त प्रभावका कारण सिर्जना भएको हो।
उनका अनुसार सल्यानमा वायु प्रदूषणको वास्तविक अवस्था मापन गर्ने कुनै उपकरण हाल उपलब्ध छैन। हाल जिल्लाको अवस्थाबारे विश्लेषण गर्न सुर्खेत र दाङमा रहेका वायु गुणस्तर मापन केन्द्र तथा IQAir को रियल–टाइम नक्सामा निर्भर रहनुपर्ने अवस्था छ।
“कम्तीमा एउटा वायु प्रदूषण मापन केन्द्र स्थापना गर्नुपर्ने आवश्यकता अत्यन्तै देखिएको छ। वास्तविक तथ्यांक नभएसम्म दीर्घकालीन योजना बनाउन कठिन हुन्छ,” उनले बताए।उनले थपे, मापन केन्द्र स्थापना भएमा प्रदूषणको स्तर नियमित रूपमा अनुगमन गर्न, जोखिम क्षेत्र पहिचान गर्न तथा समयमै जनचेतना र स्वास्थ्य सुरक्षा उपाय लागू गर्न सहज हुनेछ।
हालको अवस्थालाई ध्यानमा राख्दै अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन, बाहिर निस्कँदा मास्क प्रयोग गर्न, धुलो–धुवाँबाट जोगिन तथा घरभित्र सुरक्षित रूपमा बस्न सर्वसाधारणलाई आग्रह गरिएको छ। विशेषगरी बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती महिला तथा दीर्घरोगीहरू बढी जोखिममा रहेकाले उनीहरूलाई विशेष सावधानी अपनाउन सुझाव दिइएको छ।
यसैबीच, डढेलो नियन्त्रण, खुला रूपमा फोहोर तथा कृषि अवशेष नजलाउने, हरियाली संरक्षण गर्ने तथा वातावरणमैत्री अभ्यास अपनाउनेतर्फ सबैको सक्रिय सहभागिता आवश्यक रहेको सरोकारवालाहरूले बताएका छन्।





.jpg)