होमपेज / राजनीति
सल्यान कालीमाटीका नागरिकले मध्यवर्ती क्षेत्रमा आतंक मच्याइरहेको बाघ नियन्त्रणमा लिन जनप्रतिनिधिमार्फत प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई ज्ञापनपत्र बुझाएका छन्। स्थानीयवासीको जिउधनको सुरक्षा गर्न माग गर्दै सल्यानबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने रमेशकुमार मल्लमार्फत कालीमाटीवासीले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका हुन् ।
बर्दिया राष्ट्रिय निकुञ्जबाट आउने बाघले मानवीय क्षति हुनुका साथै स्थानीय किसानको पशु चौपाया मार्ने र दैनिक जीविकोपार्जन गर्नसमेत अप्ठ्यारो बनिरहेको अवस्थामा बस्तीमा पस्ने बाघलगायत अन्य वन्यजन्तुको यथाशीघ्र नियन्त्रण र पीडितलाई उचित क्षतिपूर्तिको व्यवस्था मिलाइनुपर्ने पत्रमा उल्लेख छ ।
दिनहुँजसो निकुञ्जबाट आउने बाघले पशु चौपाया मार्ने तथा घरबाहिरको काम गर्नसमेत स्थानीयलाई गाह्रो भएकाले बाघ नियन्त्रण गर्न र कालीमाटी क्षेत्रलाई निकुञ्जको मध्यवर्ती क्षेत्रबाट हटाउन माग गरिएको कालीमाटी गाउँपालिका– ७ का वडाध्यक्ष मित्रलाल रिजालले जानकारी दिए ।
मानव वन्यजन्तु द्वन्द्व न्यूनीकरण तथा व्यवस्थापन कार्यमा सरोकारवाला निकायलाई जिम्मेवार बनाउन आग्रह गर्दै वन्यजन्तुबाट हुने पीडा र समस्याबाट मुक्त गराउन अपिल गरिएको उनले बताए।
कालीमाटी गाउँपालिकाका ५, ६ र ७ नम्बर वडाका नागरिक बाघबाट बढी प्रभावित भएको सामुदायिक वन उपभोक्ता महासंघ सल्यानका अध्यक्ष पुरुषोत्तम भट्टराईले बताए । मानव र वन्यजन्तुबिचको समस्यालाई दिगो रूपमा समाधान गरी नागरिकलाई सहज ढंगले जीवनयापन गर्न बाटो पहिल्याउनुपर्ने उनकाे भनाइ छ । ज्ञापनपत्र बुझ्दै प्रतिनिधिसभा सदस्य रमेशकुमार मल्लले माग बोकेर सरकारको गम्भीर ध्यानाकर्षण गराउने प्रतिबद्धता जनाए।
बर्दिया राष्ट्रिय निकुञ्जबाट आएको बाघको आक्रमणबाट पुसको अन्तिम साता कालीमाटी गाउँपालिका ६ र ७ मा दुई ज्यान गएको थियो । पछिल्लो समय मानवमाथि आक्रमण नभए पनि पशु चौपाया भने मार्दै आइरहेको छ ।





.jpg)