ट्रेण्डिङ

होमपेज / अर्थ

नबिल बैंक दार्मा शाखाद्वारा ५५ जनालाई सिपमूलक वित्तीय साक्षरता तथा उद्यमशीलता विकास तालिम 

  सल्यान खबर डेस्क २०८३ बैशाख १५ गते मंगलबार १९:४१:२५ मा प्रकाशित

वैशाख १५,सल्यान ।

 नबिल बैंक लिमिटेड, दार्मा शाखाले बाख्रा पालन व्यवसायमा संलग्न जनशक्तिलाई दुई दिने सिपमूलक वित्तीय साक्षरता तथा उद्यमशीलता विकास तालिम प्रदान गरेको छ । बैंकले दार्मा गाउँपालिकामा यही वैशाख १० र ११ गते दार्मा गाउँपालिकाको सभा हलमा ५५ जना किसानलाई तालिम प्रदान गरेको हो । 

उक्त अवसरमा दार्मा गाउँपालिकाका अध्यक्ष निमबहादुर केसीले तालिमले किसानहरूको क्षमता विकास गर्नुका साथै वित्तीय साक्षरतासम्बन्धी ज्ञान अभिवृद्धि गर्नेमा विश्वास व्यक्त गरे । साथै, आगामी दिनमा पनि नबिल बैकसँग सहकार्य गर्दै यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाए । 

तालिमको समापन सत्रमा गाउँपालिकाका उपाध्यक्ष जुना मल्ल चन्दले नबिल बैंकले गरेको यस प्रकारका तालिमले बाख्रा पालन व्यवसायलाई थप व्यवस्थित र व्यावसायिक बनाउन सहयोग पुर्‍याउने उल्लेख गर्दै यस्ता कार्यक्रम आगामी दिनमा पनि सञ्चालन गर्न आग्रह गरिन् । 

नबिल बैंकले दार्मा गाउँपालिकासँगको सहकार्यमा उक्त तालिम सञ्चालन गरेको हो । नबिल बैंकका अनुसार तालिममा सहभागीहरूलाई बचत, बजेट निर्माण, ऋण व्यवस्थापन, डिजिटल वित्तीय साक्षरता, बिमा तथा लगानीका विकल्पबारे प्रयोगात्मक ज्ञान प्रदान गरिएको थियो । सहभागीहरूलाई वित्तीय रूपमा सशक्त बनाउने, बेरोजगारी घटाउने तथा उद्यमशीलता विकासमार्फत दिगो आर्थिक वृद्धि प्रवर्द्धन गर्ने उद्देश्यले तालिम सञ्चालन गरिएको बैंकले जनाएको छ । 

तालिममा पशु सेवा शाखा प्रमुख समीर न्यौपानेले बाख्रा पालनको परिचय, महत्त्व, बजारीकरण, उन्नत जात छनोट, खोर व्यवस्थापन, आहार व्यवस्थापन, प्रजनन तथा रोग नियन्त्रणका विषयमा प्रशिक्षण दिएका थिए । त्यसै गरी पशु स्वास्थ्य प्राविधिक कर्णबहादुर बुढाथोकीले घाँस खेती, दाना बनाउने तरिका, परजीवी नियन्त्रण तथा मिनिरल ब्लक प्रयोगबारे जानकारी गराएका थिए । तालिममार्फत सहभागीहरूले प्राविधिक ज्ञानका साथै व्यावसायिक अवसर पहिचान, बजारीकरण तथा वित्तीय व्यवस्थापनसम्बन्धी सीप हासिल गरेका छन् । 

बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सुरु गरेको तालिममार्फत ग्रामीण क्षेत्रमा रहेका व्यक्तिलाई आत्मनिर्भर बनाउन प्रोत्साहन गर्नुका साथै दिगो बैङ्किङ अवधारणालाई प्रवर्द्धन गर्दै वातावरणमैत्री तथा सामाजिक रूपमा जिम्मेवार लगानीलाई प्राथमिकता दिने उद्देश्य राखेको जनाएको छ ।

नबिल बैंक लिमिटेड नेपालको अग्रणी वाणिज्य बैंक हो । नबिल बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत समाजमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यसहित विभिन्न सामाजिक काम गर्दै आएको छ । नबिल एसएसईमार्फत बैंकले सामाजिक उद्यमशीलता, विकास र रोजगारी सृजनामार्फत दिगो विकासमा योगदान पुर्‍याउन आफ्नो प्रतिबद्धताको एक मुख्य आधारका रूपमा लिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top