होमपेज / स्वास्थ्य
२o८२ कार्तिक १६
सल्यानको दार्मा गाउँपालिकामा सञ्चालन गरिएको निःशुल्क स्वास्थ्य शिविरमा ४१२ जनाले स्वास्थ्य सेवा लिएका छन्। ज्वरोका बिरामीको संख्या बढ्दै गएपछि स्वास्थ्य सेवा कार्यालय सल्यानले पालिकाका दुईदिने स्वास्थ्य शिविर सञ्चालन गरेको हो।
शिविरमा २५७ महिला र १५५ पुरुषले स्वास्थ्य परीक्षण गराएका स्वास्थ्य सेवा कार्यालयले जनाएको छ। शिविरमा उच्च ज्वरो आएका १५८ जनाको रगत परीक्षण गर्दा ५१ जनामा स्क्रब टाइफस र २ जनामा डेंगी संक्रमण पुष्टि भएको कार्यालयका जनस्वास्थ्य अधिकृत ताराप्रसाद रिजालले जानकारी दिए।
रिजालका अनुसार पहिलो दिन आधारभूत स्वास्थ्य केन्द्र थुम्केसल्लीमा भएको शिविरमा १४६ महिला र १०१ पुरुष गरी २४७ जनाले स्वास्थ्य परीक्षण गराएका छन्। शिविरमा ज्वरोका लक्षण देखिएका ६७ जनाको रगत परीक्षण गर्दा २३ जनामा स्क्रब टाइफस र १ जनामा डेंगी पुष्टि भयो।
यस्तै, आइतबार त्रिवेणीमा सम्पन्न शिविरमा १११ महिला ५४ पुरुष गरी १६५ जनाले स्वास्थ्य परीक्षण गराएका छन्। उच्च ज्वरोका ९१ जनाको रगत परीक्षण गर्दा २८ जनामा स्क्रब टाइफस र एकजनामा डेंगी पुष्टि भएको रिजालले बताए।
दार्मा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख यज्ञ बस्नेतले पछिल्ला केही दिनयता गाउँपालिका तथा आसपासका क्षेत्रमा उच्च ज्वरो र अज्ञात रोगका कारण स्थानीयहरू प्रभावित भएपछि रोगको पहिचान र नियन्त्रणका लागि शिविर सञ्चालन गरिएको बताए।
दार्मा गाउँपालिकाका अध्यक्ष निमबहादुर केसीले हाल गाउँपालिकामा अज्ञात रोगका कारण उच्च ज्वरोका समस्या देखिँदै आएको र चारजनाको मृत्यु भइसकेको बताए। उनका अनुसार स्थानीयहरूमा त्रास फैलिएको अवस्थामा गाउँपालिकाले स्वास्थ्य जोखिम न्यूनीकरणका लागि शीघ्र पहल थालेको हो। शिविरबाट रोगको प्रारम्भिक पहिचान, स्वास्थ्य जनचेतना अभिवृद्धि तथा समस्या समाधानमा सहयोग पुगेको उनको भनाइ छ।
आगामी दिनमा पनि नियमित स्वास्थ्य परीक्षण कार्यक्रम, सचेतना अभिवृद्धि र जिल्ला अस्पताल तथा प्रदेश सरकारसँग समन्वय गरी विशेष स्वास्थ्य अभियान सञ्चालन गर्ने तयारी गरिएको अध्यक्ष केसीको भनाइ छ।





.jpg)