होमपेज / समाज
असार ३,सल्यान
शारदा नगरपालिकाका विभिन्न वडाका कृषकहरूलाई तरकारी खेतीमा आवद्ध गराउने उद्देश्यले स्थलगत तालिम तथा कृषि सामग्री वितरण गरिएको छ। कृषि विकास कार्यालय सल्यानको आयोजना तथा शारदा नगरपालिकाको समन्वयमा सञ्चालन गरिएको विपन्न लक्षित वर्ग विशेष कार्यक्रम अन्तर्गत किसानलाई तालिमका साथै कृषि सामाग्री हस्तान्तरण गरिएको हो ।
शारदा नगरपालिकाको वडा नं २, ६ र १५ का जम्मा १५ जना कृषकलाई लक्षित गरी सञ्चालन गरिएको कार्यक्रममा तरकारी खेती सम्बन्धी व्यावहारिक तथा स्थलगत तालिम प्रदान गरिएको हो। कार्यक्रम अन्तर्गत कृषकहरूलाई आधुनिक कृषि प्रविधिको प्रयोग, व्यवसायिक तरकारी उत्पादन तथा उत्पादन वृद्धि सम्बन्धी जानकारी दिइएको कृषि विकास कार्यालयले जनाएको छ।
कार्यक्रममार्फत कृषकहरूलाई ५० प्रतिशत अनुदानमा मिनिटिलर हाते ट्रेक्टर वितरण गरिएको छ। कृषि कार्यलाई सहज, छिटो र श्रम बचत बनाउने उद्देश्यले उपलब्ध गराइएको मिनिटिलरले कृषकहरूको उत्पादन लागत घटाउन तथा उत्पादकत्व वृद्धि गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ। त्यस्तै, शतप्रतिशत अनुदानमा ११ वटा बाँसको प्लास्टिक टनेल निर्माणको चरणमा रहेको जनाइएको छ। प्लास्टिक टनेल निर्माणपछि बेमौसमी तरकारी उत्पादनमा वृद्धि हुने र कृषकको आम्दानी बढ्ने विश्वास गरिएको छ।
कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख प्रकाश भण्डारीले कृषि क्षेत्रलाई नगरपालिकाको आर्थिक विकासको प्रमुख आधारका रूपमा लिइएको बताउनुभयो। उहाँले विपन्न तथा साना कृषकलाई आत्मनिर्भर र व्यवसायिक कृषितर्फ उन्मुख गराउन यस्ता कार्यक्रम प्रभावकारी हुने उल्लेख गर्नुभयो।
“कृषि उत्पादन बढाउने मात्र नभई कृषकको आयस्तर वृद्धि गर्ने हाम्रो मुख्य लक्ष्य हो,” नगर प्रमुख भण्डारीले भन्नुभयो, “अनुदानका कार्यक्रमलाई उत्पादनसँग जोडेर सञ्चालन गरिरहेका छौं। आधुनिक प्रविधिको प्रयोग र व्यवसायिक खेतीमार्फत कृषकलाई आर्थिक रूपमा सशक्त बनाउने नगरपालिकाको नीति छ।”
उहाँले कृषि क्षेत्रमा युवा सहभागिता बढाउन र स्थानीय उत्पादनलाई बजारसँग जोड्न नगरपालिकाले आगामी दिनमा समेत विभिन्न कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
कार्यक्रममा बोल्दै नगर उपप्रमुख सुस्मिता सापकोटाले महिलाहरू तथा विपन्न समुदायलाई कृषि उद्यमसँग जोड्न विशेष ध्यान दिइएको बताउनुभयो। उहाँले कृषकलाई उपलब्ध गराइने तालिम र कृषि सामग्रीको सही सदुपयोग गर्न आग्रह गर्दै उत्पादनमुखी कार्यक्रमले ग्रामीण अर्थतन्त्र बलियो बनाउन महत्वपूर्ण योगदान पुर्याउने धारणा राख्नुभयो।“कृषिमा लगानीसँगै सीप र प्रविधिको पनि आवश्यकता हुन्छ,” उपप्रमुख सापकोटाले भन्नुभयो, “यस्ता कार्यक्रमले कृषकको क्षमता विकास गर्नुका साथै व्यवसायिक खेतीतर्फ प्रेरित गर्ने काम गर्छन्। प्राप्त सामग्रीको प्रभावकारी उपयोग गरी उत्पादन वृद्धि गर्न कृषकहरू लाग्नुपर्छ।”
कार्यक्रममा सहभागी कृषकहरूले तालिम तथा कृषि सामग्री प्राप्त भएपछि व्यवसायिक तरकारी खेती विस्तार गर्न थप उत्साह मिलेको बताएका छन्। उनीहरूले आधुनिक कृषि उपकरण र प्लास्टिक टनेलले उत्पादन बढाउन तथा वर्षभरि तरकारी खेती गर्न सहज हुने विश्वास व्यक्त गरेका छन्।
कृषि विकास कार्यालय सल्यान र शारदा नगरपालिकाको सहकार्यमा सञ्चालन गरिएको उक्त कार्यक्रमले विपन्न समुदायका कृषकलाई व्यवसायिक कृषि उत्पादनतर्फ आकर्षित गर्नुका साथै आयआर्जन वृद्धि र आत्मनिर्भरता प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।





.jpg)