होमपेज / अर्थ
सल्यानको सिद्ध कुमाख गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ३९ करोड २९ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ।
गाउँपालिकाको गाउँसभा तथा १९औँ अधिवेशनमा गाउँपालिका अध्यक्ष भरत गिरिले वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो भने उपाध्यक्ष राम बहादुर बस्नेतले बजेट प्रस्तुत गर्नुभएको हो।
प्रस्तावित बजेटमध्ये चालु खर्चतर्फ २७ करोड २६ लाख ४२ हजार ६०२ रुपैयाँ अर्थात् ६९.३८ प्रतिशत र पुँजीगत खर्चतर्फ १२ करोड ३ लाख २५ हजार ३९८ रुपैयाँ अर्थात् ३०.६२ प्रतिशत विनियोजन गरिएको छ।
बजेटमा संघीय तथा प्रदेश सरकारबाट प्राप्त हुने सशर्त, समपूरक तथा विशेष अनुदान कार्यक्रमका लागि २२ करोड ४ लाख ६८ हजार रुपैयाँ विनियोजन गरिएको छ।
गाउँपालिकाले शिक्षा र स्वास्थ्य क्षेत्रलाई उच्च प्राथमिकतामा राखेको जनाएको छ। शिक्षातर्फ २ करोड २५ लाख ६६ हजार रुपैयाँ विनियोजन गरिएको छ भने स्वास्थ्य क्षेत्रका लागि ९२ लाख ५० हजार रुपैयाँ छुट्याइएको छ।
त्यस्तै कृषि तथा पशु विकास कार्यक्रमका लागि ४० लाख रुपैयाँ, दिगो खानेपानी तथा सरसफाइ कार्यक्रमका लागि ५८ लाख ४१ हजार रुपैयाँ र वडास्तरीय कार्यक्रम सञ्चालनका लागि १ करोड ५ लाख रुपैयाँ विनियोजन गरिएको छ।
गाउँपालिकाले कृषि उत्पादन वृद्धि, पशुपालन प्रवर्द्धन, गुणस्तरीय शिक्षा, स्वास्थ्य सेवा विस्तार तथा दिगो खानेपानी व्यवस्थापनलाई प्राथमिकतामा राख्दै बजेट तर्जुमा गरेको जनाएको छ।
यसैबीच, गाउँसभा अधिवेशनमा उपाध्यक्ष बस्नेतले आर्थिक विधेयक, २०८३ र विनियोजन विधेयक, २०८३ समेत पेश गर्नुभएको थियो।





.jpg)