ट्रेण्डिङ

होमपेज / समाज

कालिमाटीमा मेलमिलापकर्ता तालिम सुरु, स्थानीय न्याय प्रणाली सुदृढ हुने अपेक्षा

  सल्यान खबर २०८३ जेठ २८ गते बिहीबार १८:२३:३९ मा प्रकाशित

सल्यान, जेठ २८ । स्थानीय तहमा उत्पन्न हुने विवादहरूलाई समुदायभित्रै संवाद र सहमतिका माध्यमबाट समाधान गर्दै न्यायलाई सहज, छिटो तथा कम खर्चिलो बनाउने उद्देश्यले कालिमाटी गाउँपालिकामा आठदिने आधारभूत मेलमिलापकर्ता तालिम सुरु गरिएको छ।

तालिम उद्घाटन कार्यक्रममा वक्ताहरूले मेलमिलापकर्ताको सक्रिय भूमिकाले स्थानीय न्यायिक प्रणालीलाई प्रभावकारी, विश्वसनीय तथा जनमैत्री बनाउन महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेका छन्।

कालिमाटी गाउँपालिकाको आयोजनामा बिहीबारदेखि सुरु भएको ४८ घण्टे तालिममा वडास्तरबाट छनोट भएका मेलमिलापकर्ताहरूको सहभागिता रहेको छ। मेलमिलाप परिषद्बाट स्वीकृत पाठ्यक्रमअनुसार सञ्चालन भइरहेको तालिमले स्थानीय स्तरका विवादहरू अदालत वा अन्य निकायसम्म पुग्नुअघि नै सहमतिका आधारमा समाधान गर्न सक्षम जनशक्ति उत्पादन गर्ने लक्ष्य राखेको छ।

तालिम उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष दानबहादुर केसीले स्थानीय तहमा देखिने सामान्य प्रकृतिका विवादहरू समुदायभित्रै समाधान हुन सके न्यायमा नागरिकको पहुँच थप सहज र प्रभावकारी हुने बताउनुभयो। विवाद समाधानका क्रममा हुने अनावश्यक झन्झट, समयको व्यर्थता तथा आर्थिक भार कम गर्न मेलमिलापकर्ताको भूमिका महत्वपूर्ण रहने उहाँको भनाइ थियो।

गाउँपालिका उपाध्यक्ष तथा न्यायिक समितिकी संयोजक सनसिलता वली डिसीले मेलमिलापलाई दुवै पक्षलाई स्वीकार्य हुने समाधानको प्रभावकारी माध्यमका रूपमा व्याख्या गर्दै यसले सामाजिक सम्बन्ध कायम राख्दै विवाद समाधान गर्न सहयोग पुग्ने बताउनुभयो। उहाँले न्यायिक समितिको कार्यसम्पादनलाई थप प्रभावकारी बनाउन दक्ष र प्रशिक्षित मेलमिलापकर्ताको आवश्यकता रहेको उल्लेख गर्नुभयो।

तालिममा सहभागीहरूलाई द्वन्द्व व्यवस्थापन, प्रभावकारी सञ्चार, कानुनी व्यवस्था, मेलमिलाप प्रक्रिया तथा व्यवहारिक अभ्याससम्बन्धी विषयमा प्रशिक्षण प्रदान भइरहेको छ। प्रशिक्षक डा. रामबृक्ष मण्डल र हरिबाबु श्रेष्ठले मेलमिलाप परिषद्को आधिकारिक पाठ्यक्रममा आधारित प्रशिक्षण सञ्चालन गरिरहनुभएको छ।

प्रशिक्षक डा. मण्डलले तालिम सफलतापूर्वक सम्पन्न गरेपछि सहभागीहरूले प्राप्त गर्ने प्रमाणपत्रको कानुनी महत्व रहने जानकारी दिनुभयो। उहाँका अनुसार सूचीकृत मेलमिलापकर्ताबाट सम्पन्न गराइएका मिलापत्रहरूले कानुनी मान्यता प्राप्त गर्ने भएकाले स्थानीय न्यायिक प्रणालीलाई थप विश्वसनीय, प्रभावकारी र नागरिकमैत्री बनाउन यो तालिम उपयोगी सावित हुनेछ।

आठ दिनसम्म सञ्चालन हुने तालिममा सैद्धान्तिक ज्ञानसँगै विभिन्न प्रकारका विवादमा तटस्थ रहँदै संवाद सहजीकरण गर्ने व्यावहारिक अभ्याससमेत गराइनेछ। यसबाट वडा तहमा सञ्चालन हुने मेलमिलाप केन्द्रहरूलाई सक्रिय, सक्षम तथा परिणाममुखी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

गाउँपालिकाको आयोजना, जुनकिरी नेपालको सहजीकरण तथा एसटी इन्टरटेनमेन्ट प्रालिको व्यवस्थापनमा सञ्चालन भइरहेको तालिम उद्घाटन कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत हर्कबहादुर वली, वडाध्यक्षहरू, न्यायिक समितिका सदस्यहरू, विभिन्न संघसंस्थाका प्रतिनिधिहरू, सञ्चारकर्मी तथा सरोकारवालाहरूको सहभागिता रहेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

Top