होमपेज / समाज
असार ४,सल्यान
शारदा नगरपालिकामा युवाहरुलाई सीपमूलक तथा स्वरोजगारमुखी व्यवसायतर्फ आकर्षित गर्ने उद्देश्यले इभेन्ट डेकोरेशन तालिम सुरु भएको छ। नगरपालिकाको आयोजनामा बिहीबारदेखि सुरु भएको तालिम असार १० गतेसम्म सञ्चालन हुने जनाइएको छ।
तालिममा नगरपालिकाभित्रका २२ जना प्रशिक्षार्थीको सहभागिता रहेको छ। तालिममार्फत कार्यक्रम तथा समारोह स्थललाई आकर्षक ढंगले सजावट गर्ने व्यावसायिक सीप प्रदान गरिनेछ। इभेन्ट डेकोरेशन अन्तर्गत विवाह, पास्नी, जन्मदिन, शुभकामना आदानप्रदान, उद्घाटन समारोह तथा विभिन्न सामाजिक तथा सांस्कृतिक कार्यक्रमका लागि आवश्यक सजावट सम्बन्धी व्यावहारिक ज्ञान र सीप सिकाइने प्रशिक्षकले बताएका छन्।
तालिम उद्घाटन कार्यक्रममा बोल्दै शारदा नगरपालिकाका प्रमुख प्रकाश भण्डारीले पछिल्लो समय इभेन्ट डेकोरेशन व्यवसायको माग बढ्दै गएको उल्लेख गर्दै युवाहरुले सीप सिकेर स्वरोजगार बन्न सक्ने बताउनुभयो। उहाँले सीपमूलक तालिमले बेरोजगारी न्यूनीकरणका साथै स्थानीय स्तरमै आयआर्जनका अवसर सिर्जना गर्ने विश्वास व्यक्त गर्नुभयो।
“युवाहरुलाई रोजगार र उद्यमशीलतासँग जोड्ने उद्देश्यले नगरपालिकाले विभिन्न प्रकारका सीप विकास कार्यक्रम सञ्चालन गर्दै आएको छ,” मेयर भण्डारीले भन्नुभयो, “यस तालिमबाट प्राप्त ज्ञान र सीपलाई व्यवहारमा उतारेर सहभागीहरुले आफ्नै व्यवसाय सञ्चालन गर्न सक्ने अपेक्षा गरेका छौं।”
त्यस्तै, नगर उपप्रमुख सुस्मिता सापकोटाले महिलासहित युवाहरुको आर्थिक सशक्तीकरणका लागि यस्ता तालिम प्रभावकारी हुने बताउनुभयो। उहाँले तालिममा सिकाइने सीपलाई व्यावसायिक रूपमा प्रयोग गरी आत्मनिर्भर बन्न सहभागीहरुलाई आग्रह गर्नुभयो।
नगरपालिकाले स्थानीय स्तरमा रोजगारी र उद्यम विकासलाई प्राथमिकता दिँदै विभिन्न सीपमूलक तथा आयमूलक कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ। सहभागीहरुले तालिमबाट प्राप्त सीपले भविष्यमा रोजगारी तथा स्वरोजगारका अवसर सिर्जना गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्।





.jpg)