ट्रेण्डिङ

होमपेज / स्वास्थ्य

सल्यान कर्णालीकै पहिलो पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषित

  सल्यान खबर डेस्क २०८३ असार ४ गते बिहीबार १५:३२:५९ मा प्रकाशित

सल्यान कर्णाली प्रदेशमै पहिलोपटक पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्लाा घोषणा तथा प्रमाणीकरण भएको छ । जिल्लाका सबै बालबालिकाले पाउनुपर्ने सम्पूर्ण गुणस्तरीय खोप सेवा प्राप्त गरेको सुनिश्चित भएपछि सल्यानलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको हो । 

जिल्लाभर सञ्चालनमा रहेका दुई हजार १८८ वटा खोप केन्द्रमार्फत ० देखि १५ महिनासम्मका तीन हजार ९२२ जना बालबालिकाले नियमित खोप कार्यक्रमअन्तर्गत पूर्ण खोप प्राप्त गरेका छन् ।  आंशिक खोप लिएर पूर्ण खोप लिन छुटेका दुईजना बालबालिकालाई समेत खोजी गरी पूर्ण खोप प्रदान गरिएपछि उक्त उमेर समूहका कुल तीन हजार ९२४ जना बालबालिकाले पूर्ण खोप सेवा प्राप्त गरेको स्वास्थ्य सेवा कार्यालय सल्यानका खोप फोकल पसर्न ताराप्रसाद रिजालले जानकारी दिए । 

उनका अनुसार १६ देखि ५९ महिनासम्मका नाै हजार २८३ जना बालबालिकाले नियमित खोप कार्यक्रममार्फत पूर्ण खोप प्राप्त गरेका छन् । सोही उमेर समूहका आंशिक खोप लिएर पूर्ण खोप लिन छुटेका १८ जना बालबालिकालाई ‘खोज र खोप’ अभियानमार्फत पूर्ण खोप सेवा प्रदान गरिएको रिजालले बताए। 
यससँगै उक्त उमेर समूहका कुल नाै हजार ३०१ जना बालबालिकाले पूर्ण खोप प्राप्त गरेका छन् । 

दुवै उमेर समूहका गरी जिल्लाभरका कुल १३ हजार २२५ जना बालबालिकाले राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत पाउनुपर्ने सम्पूर्ण गुणस्तरीय खोप प्राप्त गरेको सुनिश्चित भएपछि सल्यानलाई कर्णाली प्रदेशकै पहिलो पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा तथा प्रमाणीकरण गरिएको उनले बताए । 
घोषणा कार्यक्रममा बोल्दै प्रदेश पूर्ण खोप समन्वय समितिका सदस्य तथा प्रदेश खोप फोकल पर्सन ओमप्रकाश पौडेलले खोप कार्यक्रम बालबालिकाको स्वास्थ्य सुरक्षाको आधारस्तम्भ भएको बताए । उनले पूर्ण खोप सुनिश्चितता तथा दिगोपनालाई कायम राख्न स्थानीय तह, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका तथा अभिभावकको निरन्तर सक्रियता आवश्यक रहेको उल्लेख गरे । 

स्वास्थ्य सेवा कार्यालय सल्यानका स्वास्थ्य सेवा व्यवस्थापक  तथा जिल्ला पूर्ण खोप समन्वय समितिका सदस्यसचिव डा. अर्जुनकुमार बुढाले जिल्लामा कुनै पनि बालबालिका खोप सेवाबाट वञ्चित नहून् भन्ने उद्देश्यका साथ खोज तथा प्रमाणीकरण अभियान सञ्चालन गरिएको जानकारी दिए । उनले सबै सरोकारवाला निकायको सहकार्यका कारण जिल्लाले ऐतिहासिक उपलब्धि हासिल गर्न सफल भएको बताए । 

जिल्ला पूर्ण खोप समन्वय समितिका संयोजक तथा जिल्ला समन्वय समितिका प्रमुख बेलाराम रावलले सल्यानलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गर्नु जिल्लाका लागि गौरवको विषय भएको बताए । उनले आगामी दिनमा पनि खोप कार्यक्रमलाई निरन्तरता दिँदै कुनै पनि बालबालिका खोप सेवाबाट छुट्न नदिने प्रतिबद्धता व्यक्त गरे । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top