होमपेज / स्वास्थ्य
सल्यान जिल्ला अस्पतालले रेबिजविरुद्ध लगाइने एआरभी (Anti-Rabies Vaccine–ARV) खोप सेवा अबदेखि निश्चित समयमा मात्र उपलब्ध गराउने भएको छ। खोपको खेर जाने दर (Wastage Rate) बढ्दै गएको तथा औषधि तथा भ्याक्सिनको मितव्ययी र प्रभावकारी व्यवस्थापन गर्ने उद्देश्यले सेवा समय निर्धारण गरिएको अस्पतालले जनाएको छ।
अस्पतालले जारी गरेको सूचनाअनुसार अबदेखि एआरभी सेवा हरेक दिन बिहान ११ः०० बजेदेखि दिउँसो ३ः०० बजेसम्म मात्र उपलब्ध हुनेछ। सोही समयभित्र सेवा लिन अस्पतालमा उपस्थित हुन सम्पूर्ण सेवाग्राहीलाई आग्रह गरिएको छ।
अस्पतालका अनुसार एआरभी खोप बहु–डोज (Multi-dose) भायलमा उपलब्ध हुने भएकाले आवश्यकभन्दा कम सेवाग्राही आएमा खोपको ठूलो हिस्सा प्रयोगविहीन भई खेर जाने समस्या देखिएको छ। यस्तो अवस्थालाई न्यूनीकरण गर्दै खोपको प्रभावकारी उपयोग सुनिश्चित गर्न सेवा समय निर्धारण गरिएको जनाइएको छ।
अस्पताल प्रशासनले सेवा समय सीमित गरिए पनि आकस्मिक तथा विशेष परिस्थितिमा भने अस्पतालको निर्णयअनुसार आवश्यक व्यवस्था गरिने जनाएको छ। कुकुर, बिरालो वा अन्य शंकास्पद जनावरले टोकेको अवस्थामा बिरामीको अवस्थालाई प्राथमिकतामा राखेर आवश्यक स्वास्थ्य सेवा उपलब्ध गराइने अस्पतालले स्पष्ट पारेको छ।
अस्पतालले सेवा समय परिवर्तनबाट सेवाग्राहीलाई पर्न सक्ने असुविधाप्रति क्षमायाचना गर्दै तोकिएको समयमै उपस्थित भई सेवा लिन अनुरोध गरेको छ। साथै रेबिज संक्रमणबाट बच्न जनावरले टोके वा चिथोरेको अवस्थामा घाउलाई साबुनपानीले राम्ररी धुने, तत्काल स्वास्थ्य संस्थामा सम्पर्क गर्ने तथा चिकित्सकको सल्लाहअनुसार एआरभी खोपको पूरा मात्रा लगाउन समेत आग्रह गरेको छ।
रेबिज एक घातक तर समयमै खोप लगाए पूर्ण रूपमा रोकथाम गर्न सकिने रोग भएकाले अस्पतालले समयमै स्वास्थ्य सेवा लिन सबै सेवाग्राहीलाई अनुरोध गरेको छ।





.jpg)