होमपेज / स्वास्थ्य
सल्यान, असार १९ । सल्यानको कपुरकोट गाउँपालिका–३ लाई कर्णाली प्रदेशकै पहिलो पूर्ण संस्थागत सुत्केरी वडा घोषणा गरिएको छ। गाउँपालिकालाई कर्णाली प्रदेशकै पहिलो तथा देशकै चौथो पूर्ण संस्थागत सुत्केरी पालिका घोषणा गर्ने महाअभियानअन्तर्गत वडा नम्बर ३ ले आवश्यक सबै मापदण्ड पूरा गरेपछि एक भव्य समारोहबीच उक्त घोषणा गरिएको हो।
सामाजिक विकास मन्त्रालयले निर्धारण गरेका पूर्ण संस्थागत सुत्केरी वडा घोषणाका सम्पूर्ण सूचक पूरा भएपछि वडा नम्बर ३ लाई औपचारिक रूपमा पूर्ण संस्थागत सुत्केरी वडा घोषणा गरिएको गाउँपालिकाले जनाएको छ। यस उपलब्धिसँगै कपुरकोट गाउँपालिका आगामी असोजभित्र देशकै चौथो र कर्णाली प्रदेशकै पहिलो पूर्ण संस्थागत सुत्केरी पालिका घोषणा हुने तयारीमा पुगेको छ।
गाउँपालिकाका अनुसार वडा नम्बर ३ मा विगत तीन वर्षदेखि कुनै पनि आमाले घरमा सुत्केरी नभई शतप्रतिशत संस्थागत रूपमा सुत्केरी हुने अभ्यास स्थापित भएको छ। गर्भवती महिलाहरूले स्वास्थ्य संस्थामा नियमित गर्भजाँच गराउने, स्वास्थ्यकर्मीको सल्लाहअनुसार आइरन र क्याल्सियम चक्की सेवन गर्ने तथा सुरक्षित मातृत्व सम्बन्धी सबै सेवा प्राप्त गर्ने व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयन गरिएको छ।
त्यसैगरी, प्रसूतिको समयमा आमा र नवजात शिशुको शतप्रतिशत स्वास्थ्य सुरक्षा सुनिश्चित गरिएको छ। सुरक्षित मातृत्व कार्यक्रमलाई प्रभावकारी रूपमा सञ्चालन गर्दै गर्भावस्थादेखि सुत्केरी अवस्थासम्म स्वास्थ्य संस्थासँग नियमित सम्पर्कमा रहने प्रणाली विकास गरिएकाले वडा पूर्ण संस्थागत सुत्केरी घोषणा हुन सफल भएको गाउँपालिकाले जनाएको छ।
कार्यक्रममा बोल्ने वक्ताहरूले सुरक्षित मातृत्व सुनिश्चित गर्न स्वास्थ्य संस्था, महिला स्वास्थ्य स्वयंसेविका, जनप्रतिनिधि, स्वास्थ्यकर्मी तथा समुदायको सक्रिय सहभागिता महत्वपूर्ण रहेको बताएका थिए। संस्थागत सुत्केरीलाई अभियानका रूपमा सञ्चालन गर्दा मातृ तथा शिशु मृत्युदर न्यूनीकरण, जटिल प्रसूति व्यवस्थापन तथा आमा र शिशुको स्वास्थ्यमा उल्लेखनीय सुधार आएको उनीहरूको भनाइ थियो।
गाउँपालिकाले आगामी असोज महिनाभित्र पालिकाका सबै वडाले आवश्यक मापदण्ड पूरा गरेपछि कपुरकोटलाई औपचारिक रूपमा पूर्ण संस्थागत सुत्केरी पालिका घोषणा गर्ने तयारी गरेको जनाएको छ। उक्त घोषणा सम्पन्न भए कपुरकोट कर्णाली प्रदेशको पहिलो र देशकै चौथो पूर्ण संस्थागत सुत्केरी पालिका बन्नेछ।
स्थानीय सरकारले सुरक्षित मातृत्वलाई उच्च प्राथमिकतामा राख्दै गर्भवती महिलाको नियमित स्वास्थ्य परीक्षण, संस्थागत प्रसूति, पोषण, स्वास्थ्य परामर्श तथा मातृ–शिशु स्वास्थ्यसम्बन्धी सेवामा निरन्तर सुधार गर्दै आएको जनाएको छ। गाउँपालिकाको यो उपलब्धिलाई मातृ तथा शिशु स्वास्थ्य क्षेत्रमा एक महत्वपूर्ण सफलता तथा अन्य स्थानीय तहका लागि प्रेरणादायी अभ्यासका रूपमा हेरिएको छ।





.jpg)