होमपेज / स्वास्थ्य
सल्यान, असार १७ ।
दार्मा गाउँपालिकामा बाल पोषण भत्ताको प्रभावकारी उपयोग सुनिश्चित गर्ने उद्देश्यले बाल पोषण भत्ताको उपयोगिता सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम गाउँपालिकाकी उपाध्यक्ष जुना मल्लको सहजीकरणमा सम्पन्न भएको हो।
अभिमुखीकरण कार्यक्रममा बाल पोषण भत्ता प्राप्त गर्ने परिवार, महिला स्वास्थ्य स्वयंसेविका, जनप्रतिनिधि तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। कार्यक्रममा बालबालिकाको समुचित पोषण, स्वास्थ्य तथा सर्वाङ्गीण विकासका लागि सरकारले उपलब्ध गराउँदै आएको बाल पोषण भत्ताको सही उपयोगबारे जानकारी प्रदान गरिएको थियो।
कार्यक्रममा सहजीकरण गर्दै गाउँपालिका उपाध्यक्ष जुना मल्लले बाल पोषण भत्ता बालबालिकाको पोषण सुधारका लागि सरकारले उपलब्ध गराएको महत्वपूर्ण सामाजिक सुरक्षा कार्यक्रम भएको बताउनुभयो। उहाँले उक्त रकम अन्य अनावश्यक खर्चमा प्रयोग नगरी बालबालिकाका लागि आवश्यक पोषिलो खाना, सरसफाइका सामग्री, नियमित स्वास्थ्य परीक्षण तथा आवश्यक औषधोपचारमा खर्च गर्न अभिभावकहरूलाई आग्रह गर्नुभयो।
उहाँले बालबालिकाको पहिलो एक हजार दिन अत्यन्तै महत्वपूर्ण हुने उल्लेख गर्दै यही अवधिमा उचित पोषण, स्याहार र स्वास्थ्य सेवामा ध्यान दिन सके भविष्यमा कुपोषण, रोग तथा शारीरिक र मानसिक विकासमा देखिने समस्यालाई न्यूनीकरण गर्न सकिने बताउनुभयो। बालबालिकाको स्वस्थ भविष्य निर्माणमा अभिभावकको भूमिका सबैभन्दा महत्वपूर्ण हुने भएकाले पोषण भत्ताको सही सदुपयोग गर्नुपर्नेमा उहाँले जोड दिनुभयो।
कार्यक्रममा सहभागीहरूले बाल पोषण भत्ताको उद्देश्य, यसको उपयोग गर्ने सही तरिका, सन्तुलित आहारको महत्व, बालबालिकाको नियमित वृद्धि अनुगमन, खोप, सरसफाइ तथा पोषणसम्बन्धी व्यवहार परिवर्तनका विषयमा जानकारी प्राप्त गरेका थिए। साथै, बालबालिकामा कुपोषण न्यूनीकरण गर्न स्थानीय तह, स्वास्थ्य संस्था र अभिभावकबीचको सहकार्य आवश्यक रहेकोमा पनि जोड दिइएको थियो।
दार्मा गाउँपालिकाले यस्ता अभिमुखीकरण कार्यक्रममार्फत बाल पोषण भत्ताको प्रभावकारी कार्यान्वयन, बालबालिकाको पोषण अवस्था सुधार तथा अभिभावकमा सचेतना अभिवृद्धि गर्ने लक्ष्य राखेको जनाएको छ। गाउँपालिकाले आगामी दिनमा पनि विभिन्न वडामा यस्ता जनचेतनामूलक कार्यक्रम सञ्चालन गरी बालबालिकाको स्वास्थ्य, पोषण र समग्र विकासमा सकारात्मक योगदान पुर्याउने विश्वास व्यक्त गरेको छ।





.jpg)