होमपेज / राजनीति
पुष २९, सल्यान
दार्मा गाउँपालिका ३ मा रहेको जनज्योति फारुलाचौरको प्राङ्गण । रातो टेन्टले सजाईएको मञ्च, उक्त मञ्चमा तिन युवा जनप्रतिनिधी र गाउँ सभा सदस्यहरु बेञ्चमा बसेर केही लेखिरहेका त कोही बोलिरहेका थिए । उनिहरु सबैलाई परिचयपत्र अनिवार्य गरिएको थियो । त्यहाँ बसेकालाई मर्यादापालक नियममा लागिएको थियो ।
मञ्चमा पालिका प्रमुख, उपप्रमुख र सचिव प्रमुख प्रशासकिय अधिकृत छन् । अघिल्लो पक्तिमा गाउँपालिकाका १ देखि ६ का सबै वडाका वडा अध्यक्ष, वडा सदस्यहरु छन् ।
सभामा गाउँपालिका प्रमुखले आगामी वर्षको लागि युवा नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेकी छन् । सभाका सदस्य त्यसलाई सुनिरहेका छन्। यसलाई हेर्दा लाग्थ्यो साच्चीकै दार्मा गाउँपालिकाको सभा चलिरहेको छ । गाउँसभामा नितिकार्यक्रम, आगामी आर्थिक बर्ष २०८०⁄८१ को बजेट र आर्थिक ऐन र विनियोजन विधेयक पारित समेत पेस गरियो । गाउँसभामा सहभागी कतिपय सदस्यहरुले नितिकार्यक्रम र बजेट चित्तबुझदो नभएको भन्दै सुझाव दिएका थिए ।
तर, यो दृष्य हो, गाउँपालिकामा युवाले सञ्चालन गरेको नमूना युवा संसद कार्यक्रमअन्तर्गत नमूना गाउँ सभा अभ्यास कार्यक्रमको हो ।
युवाहरुले राजनीतिक नेतृत्वलाई युवाका मुद्दाप्रति सचेत गराउन र युवालाई संसदीय अभ्यासमा लैजान युवा संसद सञ्चालन गरिएको दार्मा गाउँपालिकाका शिक्षा शाखा प्रमुख तिलक केसीले जानकारी दिनुभयो । नेपाल सरकार राष्ट्रिय युवा परिषदको प्रत्येक वर्ष जिल्लाको १ वटा स्थानीय तहमा युवा संसद सञ्चालन गर्ने नीति अनुसार दार्मा गाउँपालिकामा नमूना युवा संसद कार्यक्रम सञ्चालन गरिएको बताउनु भयो ।
उहाँले प्रत्येक पालिकाका प्रत्येक वडाबाट ३–३ जना, र गाउँपालिकाबाट ६ जना गरेर २६ जना युवा सहभागी गराई चार दिनसम्म उनीहरुलाई संसदीय प्रक्रिया, ज्ञानको बारेमा जानकारी दिइ नमुना युवा संसद कार्यक्रम सञ्चालन गरिएको वताउनु भयो ।
संसदीय अभ्यासमा द्धाय प्रशिक्षक युवराज खडका र युवराज जोसीले तालिम सिकाउनु भएको थियो । युवाले सञ्चालन गरेको नमूना युवा सांसद अभ्यास कार्यक्रममा जिल्ला समन्वय समितीका उपप्रमुख असबिर बुढाथोकी र गाउँपालिका उपाध्यक्ष जुना मल्ल चन्दले समापन गर्नुभएको थियो ।
कार्यक्रममा बोल्दै समन्वय उपप्रमुख बुढाथोकीले संसदको भूमिकामा रहेका युवाले संसदीय अभ्यासमार्फत युवाका मुद्दालाई स्थानीय तहबाट स्थापित गर्ने दबाब दिएको बताउनु भएको भयो । युवाहरुले संसदीय अभ्यास मार्फत गाउँसभा चलाएको देख्दा नेतृत्व बिकासमा टेवा पुग्ने बताउनु भयो । पालिका बाट हुने काम कारवाहीलाई युवाले गतिलो प्रहार गर्दै अव बिकास निर्माणका काममा पनि आवाज उठाउनु पर्ने बताउनु भयो ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष मल्ल चन्दले युवाले समग्र नेतृत्व विकास र क्षमता विकास गरी अगाडि बढेमा भविष्यमा कुशल राजनितिज्ञ बन्ने कुरामा बिश्वास दिलाउनु भयो । चार दिनको तालिमले पछिल्लो समय युवाहरुमा बढदै गएको नकारात्मक सोचमा यो अभ्यासले युवाहरुलाई सकारात्मक बनाउनु आशा गर्नुभयो । संसदीय अभ्यासमा युवाहरुले उठाएका प्रश्नको टिर्पोट गरेको बताउदै उहाँले अवको नितिकार्यक्रम र बजेट विनियोजनमा युवाको सहभागितामा जोड दिने बताउनु भयो ।
कार्यक्रममा सहभागीहरुले संसदीय अभ्यास तालिमले पालिका बाट प्रस्तुत हुने बजेट, नितिकार्यक्रम र बिकास निर्माणका बिषयमा जान्न पाएको बताएका थिए ।