ट्रेण्डिङ

होमपेज / समाज

सल्यानको एक दुग्ध सहकारीलाई मिल्क एनालाईजर मेसिन हस्तान्तरण

  सरिता चलाउने २०८० भाद्र १६ गते शनिबार १७:५०:३२ मा प्रकाशित

भदौ १६,सल्यान

सल्यानको एक दुग्ध सहकारीलाई मिल्क एनालाईजर हस्तान्तरण गरिएको छ । जिल्लाको दार्मा गाउँपालिका ५ त्रिवेणीमा रहेको साना किसान महिला सहकारी संस्थालाई मिल्क एनालाईजर हस्तान्तरण गरिएको हो । 

शनिवार एक कार्यक्रमका बिच कर्णाली प्रदेश  भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री भिमप्रकाश शर्माले सो मिल्क एनालाईजर सेट हस्तान्तरण गर्नुभएको हो । किसानसँग सरकार कार्यक्रम अन्तर्गत कर्णाली प्रदेश सरकारद्वारा ४ लाख ६८ हजार बराबरको मिल्क एनालाईजर मेसिन सहकारीलाई हस्तान्तरण गरिएको सहकारीका प्रबन्धक सुरेन्द्र केसीले बताउनु भयो । उहाँका अनुसार सेटमा डिजिटल तराजु, कम्प्युटर, प्रिन्टर, ईन्भटर तथा एनालाईजर उपकरण रहेका छन् । कर्णाली सरकारले उत्पादनमा आधारित सहकारीलाई मागको आधारमा उपकरणहरू दिने व्यवस्था मिलाइएको छ ।

५ सय ५० जना किसान संलग्न रहेको सहकारीले दैनिक ७ सय लिटर दूध सङ्कलन गर्दै आइरहेको प्रबन्धक केसीले बताउनु भयो । 

मिल्क एनालाईजर हस्तान्तरण कार्यक्रममा बोल्दै कृषि मन्त्री शर्माले सहकारीहरूले यस अघि दूधको शुद्धता मापन गर्न धेरै समय र झन्झटिलो हुने गरेकोमा अव सहज हुने बताउनु भयो । मिल्क एनालाईजरको प्रयोगबाट तुरुन्तै दूधको शुद्धता, पानीको मात्रा, फ्याट, प्रोटिनलगायतको पत्ता लगाउन सकिने भएकाले यो उपकरणको प्रयोगले कृषकले दूधको गुणस्तरअनुसार मूल्य पाउने बताउनु भयो । दूधको शुद्धता मापन गरेर बिक्री गर्दा महँगोमा बिक्री हुने र बाहिरी जिल्लामा निर्यात गर्न समेत सजिलो हुने बताउनु भयो । 

मन्त्री शर्माले भन्नु भयो,“ अहिलेसम्म हामीले दूध त खाएको छौ तर कस्तो दूध खाई रहेका छौ भन्ने थाहा छैन, यता किसान पनि ठगिएको छ, अर्कोतिर खाने मान्छे पनि ठगिएको छ, यसको अन्त्य गर्नको लागि यो मिल्क एनालाईजरको व्यवस्था गरिएको हो, बढी भन्दा बढी दूध उत्पादन र दूधमा गुणस्तर ल्याउनमा सरकार लागि परेको छ । 

जसको लागि कर्णाली प्रदेश सरकारले बिभिन्न अनुदानका कार्यक्रम ल्याएको छ भने कृत्रिम गर्भाधानको व्यवस्था समेत गर्ने कृषि मन्त्री शर्माले बताउनु भयो । 

हस्तान्तरण कार्यक्रममा दार्मा गाउँपालिका अध्यक्ष निम बहादुर केसी, उपाध्यक्ष  जुना मल्ल, कृषि तथा पशुपन्छी विकास निर्देशनालयका निर्देशक कृष्ण पङ्गेनी, पशु अस्पताल तथा पशु सेवा कार्यालयका प्रमुख गोविन्द महत लगायत किसानहरूको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top