ट्रेण्डिङ

होमपेज / राजनीति

सञ्चार क्षेत्रले सङ्घीयताको अनुभूति गर्न पाएन: अध्यक्ष पोख्रेल

  सरिता चलाउने २०७९ फाल्गुण ८ गते सोमबार १७:३७:४९ मा प्रकाशित

 फागुन ८,सल्यान 

नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोख्रेलले सञ्चार क्षेत्रले अझै सङ्घीयताको अनुभूति गर्न नपाएको बताउनु भएको छ । अहिले पनि सञ्चार सम्बन्धी कानुनका कारण प्रदेश र स्थानीय तहमा सञ्चार माध्याम र पत्रकारिताका क्षेत्रको विकासका लागि राज्यले अभिभावकत्वको भूमिका खेल्न नसकेको बताउनुभयो ।

सोमबार नेपाल पत्रकार महासङ्घ सल्यानले आयोजना गरेको सल्यानको पत्रकारिताको अवस्था र चुनौती विषयक छलफल कार्यक्रममा बोल्दै उहाँले जुन दलको सरकार बने पनि प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता मैत्री बन्न नसकेको बताउनु भयो । राज्यले निर्माण गर्ने कानुनहरूले प्रेस स्वतन्त्रतामा सुनिश्चित हुन्छ भनेर आश्वस्त पार्न नसकेको भन्दै उहाँले सरकारले सञ्चार क्षेत्रको अभिभावकत्व ग्रहण गर्न नसकेको बताउनु भयो । 

आम सञ्चार प्रतिष्ठान बनाउनका लागि महासङ्घले बर्षौ देखि आवाज उठाउँदै आएको, र सरकारको बजेट भाषणमा समेटिए पनि अहिले सम्म गठन हुन नसकेको बताउनु भयो ।  उहाँले भन्नु भयो, ‘ राज्य अहिले सम्म हाम्रो अभिभावक बन्न सकेको छैन,  हाम्रो दिगोपनाको लागि काम गरौँ भन्दा पनि छैन, प्रेस स्वतन्त्रता सम्बन्धी कानुन बनाएर अभिभावकत्व ग्रहण गर भन्दा पनि ध्यान दिँदैन, मिडियाको प्रवर्द्धनका लागि राज्य उदासीन देखिएको छ ।’

   नागरिकका सुचना दिने काम सञ्चार माध्यमाको भएकाले विकासका नाममा, भौतिक पूर्वाधार निर्माण गर्नु मात्र नभएर सञ्चार क्षेत्रका दिगो विकासका लागि राज्यले लगानी गर्न आवश्यक रहेको बताउनु भयो । सञ्चार क्षेत्रको लागि भनेर छुट्ट्याएको बजेट मिडियामै खर्च गर्नुपर्ने, र मिडियालाई मोलमोलाइको रुपमा नहेर्न आग्रह गर्नुभयो ।

अध्यक्ष पोख्रेलले पत्रकारहरुका विषयमा पनि समाजमा बिभिन्न प्रश्न उठेकाले पत्रकार पेसालाई व्यवसायीक र मर्यादित बनाउनको लागि महासङ्घ प्रतिबद्ध भएको भन्दै शुद्धीकरण अभियान सञ्चालन गरिने बताउनु भयो । सुचना दिने र लिने मात्र नभएर नयाँ आयामको खोजी गरेर पत्रकारिता गर्नु अहिलेको आवश्यकता भएको पोख्रेलले बताउनु भयो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कृष्णचन्द्र पौडेलले सल्यानको पत्रकारिता स्वच्छ, मर्यादित रहेकाले यसलाई कायम राख्नु पर्ने बताउनुभयो । उहाँले पत्रकारहरूको भूमिका जिल्लाको विकासमा केन्द्रित भएकाले सुरक्षित पत्रकारिताका लागि आफूले सहयोग गर्ने बताउनु भयो  ।

यस्तै नेपाल पत्रकार महासङ्घका पूर्व अध्यक्ष रमेश गौतमले प्रविधिमा भएको विकासले पत्रकारितामा अवसर सँगै चुनौती थपिएको बताउनुभयो । अहिलेको  चुनौतीलाई सीप क्षमता अभिवृद्धि गरेर समाधान गर्न सकिने भएकाले सूचनाका वह आयामिक विषय खोजी गरेर  समुदायमा लैजानु पर्ने बताउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top