होमपेज / राजनीति
सरिता चलाउने चैत १३,सल्यान
नेकपा (एकीकृत समाजवादी) का उपमहासचिव प्रकाश ज्वालाले विकास निर्माणमा राजनीति गर्न नहुने बताएका छन् । मुलुकको आर्थिक सामाजिक विकासमा कोही कसैले पनि राजनीति गर्न नहुने बताए । सबै मिलेर विकासमा लाग्न सके मात्र उक्त विकास दिगो र जनता प्रति बढी उत्तरदायी हुने बताए ।
आइतबार प्रदेश राजधानी सुर्खेतदेखि कालीमाटी रामपुर, काभ्रा, लुहाम हुँदै खलङ्गा जोड्ने मोटर बाटोको उद्घाटन गर्दै कर्णाली प्रदेशमा पूर्व आर्थिक मामिला तथा योजना मन्त्री समेत रहेका ज्वालाले विकास निर्माणमा यो मेरो त्यो तेरो नभनी सबैले सामूहिक रुपमा योगदान गर्न सके राष्ट्रको विकास तीब्र गतिमा हुने बताए । विकास गर्न सबै लाग्नु पर्ने बताउँदै विकास निर्माण गर्दा राजनीतिक भावनालाई त्याग गर्न सक्नु पर्ने बताए ।
यस्तै त्रिवेणी गाउँपालिका अध्यक्ष मान बहादुर डाँगीले लुहाम काभ्रा, कालीमाटी सडक पश्चिम दक्षिण क्षेत्र र समग्रमा सल्यानकै प्रमुख मेरुदण्ड भएको बताए । प्रदेश राजधानी जोड्ने छोटो सडक सञ्जालको रुपमा यो सडक रहेको उनको भनाई छ । शिलान्यास भएको झन्डै २८ वर्ष पछि ट्याक ओपन भएको बताउँदै उनले सडकलाई आर्थिक विकाससँग जोड्नु पर्ने बताए ।
यस्तै नेकपा (माओवादी केन्द्र)का नेता तथा कर्णाली प्रदेश मुख्यमन्त्रीका पूर्व राजनीतिक सल्लाहकार भीम प्रकाश शर्माले विगत जिल्ला विकास समिति हुँदा जिल्लाका प्रमुख सडकको रुपमा तीन सडकलाई प्राथमिकतामा राखेको र उक्त प्राथमिकतालाई प्रदेश सरकारले पनि पहिलो प्राथमिकतामा राखी कार्यान्वयनमा ल्याएको बताए । विगतको सर्वदलीय समितिले खलङ्गा कुपिण्डे सल्लीबजार, लुहाम, काभ्रा कालीमाटी सडक र थारमारे,चौरपानी चौरजहारी सडकलाई प्राथमिकता दिएको स्मरण गर्दै आज आएर प्रदेश सरकारले ती तीन वटै सडकलाई स्तरोन्नति गरी रहेको बताए ।
नेपालमा सङ्घीयता आएसँगै पछाडि परेको, पारिएको, उत्पीडित क्षेत्रले विकासको मुहार हेर्न पाएको दाबी गर्दै सङ्घीयताबाट प्राप्त उपलब्धिलाई केही महत्त्वपूर्ण पार्टीबाटै कुठाराघात हुने हो कि भन्ने आंशका पैदा भएको बताए ।
कालीमाटी गाउँपालिका अध्यक्ष दान बहादुर केसीले प्रदेश राजधानी जोड्ने सडकको द्रुततर गतिमा विकास हुनु पर्ने बताए । विगतमा जे जस्ता समस्या भएपनि उक्त सडकलाई स्तरोन्नति गर्नु पर्नेमा जोड दिए ।
२०५० सालमा शिलान्यास भएको बाटोको झन्डै २८ वर्ष पछि ट्याक ओपन सम्पन्न भएको छ ।
डिल्ली केसीको सञ्चालनबाट सुरु भएको कार्यक्रमको अध्यक्षता धिरज रावतले गरेका थिए ।





.jpg)