ट्रेण्डिङ

होमपेज / अपराध

नेकपा (बहुमत) का नाममा चन्दा माग्ने २ जना पक्राउ

  सल्यान खबर २०८० श्रावण २५ गते बिहीबार १७:४६:०७ मा प्रकाशित

साउन २५ 

नेकपा (बहुमत)को नाममा चन्दा माग्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा सल्यानको त्रिवेणी गाउँपालिका-४ का धनराज तुफान भनिने धनबहादुर परियार र सल्यान छत्रेश्वरी गाउँपालिका-१ दमाचौरका २९ वर्षीय चन्द्रप्रकाश विक रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ। बिहीबार उनीहरूलाई पत्रकार सम्मेलन गरी प्रहरीले सार्वजनिक गरेको हो। 

उनीहरूले शिक्षिका जानका अधिकारीसहित विभिन्न व्यक्तिलाई नेकपा (बहुमत)को लेटरप्याड बनाई आर्थिक सहयोग भनेर वाट्सएप र चिठी पठाएर धम्की दिएर पैसा माग्थे। इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डीएसपी पुष्पराज मल्लका अनुसार आपराधिक लाभ सम्बन्ध कसुरमा उनीहरूलाई बुधबार पक्राउ गरिएको हो।

गत चैतदेखि उनीहरूले धेरै जनालाई पत्र, म्यासेज वा आफै गएर नेकपा (बहुमत) को नाममा पैसा माग्दै आएको उनको भनाइ छ। उनीहरूले एउटै नम्बरबाट फोन गरेर पैसा माग्ने र धम्की दिने गरेको पनि उनले बताए। उनका अनुसार अहिलेसम्म ४ जना पीडित प्रहरीको सम्पर्कमा आएका छन्।

उनीहरूले विभिन्न व्यक्तिसँग १ लाखदेखि १० लाखसम्म चन्दा मागेको समेत प्रहरीले जनाएको छ। उनीहरूले तुलसीपुरको हिमाल एकेडेमीका प्रिन्सिपल मधुसूदन केसीसँग १० लाख, सल्यानको कालिका माविका शिक्षक वामदेव अधिकारीसँग ५ लाख र तुलसीपुर-७ पर्सेनीका इन्द्रबहादुर वलीसँग १ लाख रुपैयाँ मागेका थिए। 

यसरी विभिन्न व्यक्तिलाई धम्की दिएर पैसा मागेको भन्ने खबर आएपछि प्रहरीले लामो समयको अनुसन्धानपछि उनीहरूलाई पक्राउ गरेको डीएसपी मल्लले बताए। उनका अनुसार नेपाल प्रहरी प्रधान कार्यालय, केन्द्रीय अनुसन्धान ब्युरो महाराजगन्ज, लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङ, नेपाल प्रहरी प्रदेश कार्यालय भैरहवा रूपन्देही एवं जिल्ला प्रहरी कार्यालय दाङसहितको सहयोगमा उक्त घटना बाहिर आएको हो।

पक्राउ परेका दुबैजनामाथि अनुसन्धान भइरहेको र मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २१ को दफा २५३ बमोजिमको कसुर मुद्दामा दाङ जिल्ला अदालतबाट म्याद भएको समेत उनले बताए। उनीहरूबाट नेकपा (बहुमत) का १२१ थान लेटरप्याड र छाप, ९ थान चेक, विभिन्न व्यक्तिका ३९ वटा नागरिकताको कपी र कम्प्युटर, फोटोकपी मेसिन लगायत सामग्री बरामद भएको समेत प्रहरीले जनाएको छ।  

पक्राउ परेका परियार नेकपा एमाले त्रिवेणी गाउँपालिकाका सचिव तथा पत्रकार महासंघ सल्यानका साधारण सदस्य समेत हुन्। परियारका साथमा पत्रकार परिचयपत्र समेत प्रहरीले बरामद गरेको छ। 

प्रतिक्रिया

सम्बन्धित खवर

Top