होमपेज / समाज
सल्यान, असार १०
लागू औषध दुर्व्यसनका कारण समाजमा बढ्दै गएको नकारात्मक प्रभाव न्यूनीकरण गर्न सामूहिक प्रयास आवश्यक रहेको सरोकारवालाहरूले बताएका छन्। जिल्ला प्रशासन कार्यालय सल्यानको आयोजना तथा औषधि व्यवसायी संघ सल्यानको सहकार्यमा आयोजित लागू औषध दुर्व्यसन सम्बन्धी अन्तरक्रिया कार्यक्रममा सहभागीहरूले यस्तो धारणा व्यक्त गरेका हुन्।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी महेन्द्रकुमार सापकोटाले लागू औषध दुर्व्यसन युवापुस्तामाझ गम्भीर सामाजिक चुनौतीका रूपमा देखापर्दै गएको बताउनुभयो। उहाँले दुर्व्यसनले व्यक्तिको स्वास्थ्य, परिवार, शिक्षा तथा समग्र सामाजिक संरचनामा नकारात्मक असर पार्ने भएकाले यसको रोकथामका लागि सबै पक्ष जिम्मेवार हुनुपर्ने उल्लेख गर्नुभयो। उहाँले लागू औषधको अवैध कारोबार तथा दुरुपयोग नियन्त्रणका लागि प्रशासनले विभिन्न सचेतनामूलक तथा निगरानीका कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिनुभयो।
त्यसैगरी जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख प्रहरी नायव उपरीक्षक दीपक पातलीले लागू औषध सम्बन्धी कानुनी व्यवस्था, अपराधको अवस्था तथा नियन्त्रणका लागि प्रहरीले गरिरहेका गतिविधिबारे जानकारी गराउनुभयो। उहाँले लागू औषधको प्रयोग तथा कारोबार कानुनी रूपमा दण्डनीय अपराध भएको उल्लेख गर्दै युवाहरूलाई दुर्व्यसनबाट टाढा राख्न अभिभावक, विद्यालय, स्थानीय तह तथा समुदायको भूमिका महत्वपूर्ण हुने बताउनुभयो।
अन्तरक्रियामा सहभागीहरूले लागू औषध दुर्व्यसनका कारण युवाहरूको भविष्य जोखिममा पर्दै गएको भन्दै विद्यालय तथा समुदायस्तरमा थप सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यकता औंल्याएका थिए। उनीहरूले लागू औषधको अवैध कारोबार नियन्त्रणका लागि सम्बन्धित निकायबीच समन्वय र सहकार्यलाई थप प्रभावकारी बनाउनुपर्ने सुझाव दिएका थिए।
कार्यक्रममा औषधि व्यवसायी संघ सल्यानका पदाधिकारी, सुरक्षा निकायका प्रतिनिधि, स्वास्थ्यकर्मी, विभिन्न संघसंस्थाका प्रतिनिधि तथा सरोकारवाला व्यक्तिहरूको सहभागिता रहेको थियो। सहभागीहरूले लागू औषध दुर्व्यसन न्यूनीकरणका लागि जनचेतना अभिवृद्धि, कानुनी कार्यान्वयनमा कडाइ तथा समुदायको सक्रिय सहभागितामार्फत मात्र प्रभावकारी परिणाम हासिल गर्न सकिने धारणा राखेका थिए।
कार्यक्रमको उद्देश्य लागू औषध दुर्व्यसनका कारण उत्पन्न सामाजिक, आर्थिक तथा स्वास्थ्यसम्बन्धी समस्याबारे जनचेतना अभिवृद्धि गर्नुका साथै यसको रोकथाम र नियन्त्रणका लागि सरोकारवाला निकायहरूबीच समन्वय र सहकार्यलाई थप मजबुत बनाउनु रहेको आयोजकले जनाएको छ। कार्यक्रमले जिल्लामा लागू औषध नियन्त्रण अभियानलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरिएको थियो।





.jpg)