होमपेज / समाज
सल्यान । "लागुऔषधको चुनौती चिनौं, सामाजिक समाधानको बाटो खोजौं" भन्ने मूल नारासहित सल्यानमा लागुऔषध दुरुपयोग तथा ओसारपसार विरुद्ध अन्तर्राष्ट्रिय दिवस विविध जनचेतनामूलक कार्यक्रमका साथ मनाइएको छ। जिल्ला प्रशासन कार्यालय सल्यान र जिल्ला प्रहरी कार्यालय सल्यानको संयुक्त आयोजनामा शुक्रबार सप्ताहव्यापी कार्यक्रमको अन्तिम दिन प्रभातफेरी तथा सचेतनामूलक सभा सम्पन्न गरिएको हो।
कार्यक्रम प्रमुख जिल्ला अधिकारी महेन्द्रकुमार सापकोटाको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल लगायत जिल्लास्थित सम्पूर्ण सुरक्षा निकायका प्रमुख, पशु अस्पताल तथा पशु सेवा कार्यालय सल्यान, औषधि व्यवसायी संघ जिल्ला कार्यसमिति सल्यान, विभिन्न सरकारी कार्यालयका निजामती कर्मचारी, प्रहरी कर्मचारी तथा अन्य सरोकारवाला निकायका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
प्रभातफेरी शारदा नगरपालिका–२ स्थित पुरानो बसपार्कबाट सुरु भई खलङ्गा बजारको विभिन्न भाग परिक्रमा गर्दै पुनः पुरानो बसपार्कमा पुगेर सभामा परिणत भएको थियो। सहभागीहरूले लागुऔषध दुरुपयोगविरुद्ध जनचेतना फैलाउने विभिन्न नारासहितको प्लेकार्ड प्रदर्शन गर्दै समाजलाई लागुऔषधमुक्त बनाउन सबै पक्षको साझा प्रतिबद्धता आवश्यक रहेको सन्देश दिएका थिए।
सभामा बोल्दै प्रमुख जिल्ला अधिकारी सापकोटाले लागुऔषध दुरुपयोग व्यक्तिगत समस्या मात्र नभई परिवार, समाज र राष्ट्रकै चुनौतीका रूपमा रहेको उल्लेख गर्नुभयो। उहाँले यसको नियन्त्रणका लागि सरकारी निकायको प्रयाससँगै अभिभावक, विद्यालय, समुदाय, नागरिक समाज र युवाको सक्रिय भूमिका अपरिहार्य रहेको बताउनुभयो। लागुऔषध प्रयोगमा फसिसकेका व्यक्तिलाई अपराधीका रूपमा मात्र नभई उपचार र पुनःस्थापनाको आवश्यकता भएका व्यक्तिका रूपमा हेर्नुपर्नेमा पनि उहाँले जोड दिनुभयो।
कार्यक्रममा सुरक्षा निकायका प्रतिनिधिहरूले पछिल्लो समय लागुऔषध ओसारपसार र प्रयोगका नयाँ स्वरूप देखिन थालेकाले त्यसको नियन्त्रणका लागि जनचेतना, कानुनी कार्यान्वयन र समुदायको सहकार्यलाई अझ प्रभावकारी बनाउनुपर्ने धारणा राखेका थिए। विशेषगरी युवा पुस्तालाई लागुऔषधको कुलतबाट जोगाउन विद्यालयस्तरदेखि नै सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याइएको थियो।
हरेक वर्ष जुन २६ का दिन विश्वभर लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्ध अन्तर्राष्ट्रिय दिवस मनाइन्छ। संयुक्त राष्ट्रसंघको आह्वानमा मनाइने यस दिवसको उद्देश्य लागुऔषधको प्रयोग, उत्पादन तथा अवैध कारोबार नियन्त्रणका लागि विश्व समुदायलाई एकताबद्ध गर्दै जनचेतना अभिवृद्धि गर्नु हो।
आयोजकका अनुसार सप्ताहव्यापी कार्यक्रमअन्तर्गत विभिन्न सचेतनामूलक गतिविधि सञ्चालन गरिएको थियो। अन्तिम दिनको प्रभातफेरी र सभामार्फत लागुऔषधविरुद्ध सामूहिक अभियानलाई थप सशक्त बनाउने, युवालाई कुलतबाट जोगाउने तथा स्वस्थ, सुरक्षित र सभ्य समाज निर्माणका लागि सबै सरोकारवालाले आ–आफ्नो ठाउँबाट सक्रिय भूमिका निर्वाह गर्नुपर्ने सन्देश दिँदै कार्यक्रम सम्पन्न गरिएको हो।





.jpg)