होमपेज / अर्थ
सल्यान, असार ९
शारदा नगरपालिकाको १९औँ नगरसभा बिहीबार भव्य रूपमा सम्पन्न भएको छ। नगर प्रमुख प्रकाश भण्डारीको अध्यक्षतामा सम्पन्न सभाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि नीति तथा कार्यक्रम तथा बजेट प्रस्तुत गर्दै नगरको विकासका प्राथमिकता तय गरेको छ।
नगरसभामा नगर प्रमुख भण्डारीले आगामी आर्थिक वर्षका लागि नगरपालिकाको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सुशासन, पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, रोजगारी तथा सामाजिक विकासलाई प्राथमिकतामा राखिएको बताउनुभयो। उहाँले नगरवासीको जीवनस्तर सुधार गर्दै समृद्ध र आत्मनिर्भर नगर निर्माणका लागि नीति तथा कार्यक्रम केन्द्रित गरिएको उल्लेख गर्नुभयो।
सोही अवसरमा नगर उपप्रमुख सुस्मिता सापकोटाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि १ अर्ब ३६ करोड १ लाख २६ हजार ५ सय १३ रुपैयाँ बराबरको बजेट सभामा प्रस्तुत गर्नुभयो। प्रस्तुत बजेटमार्फत नगरभित्र सञ्चालन हुने विकास निर्माणका योजना, सामाजिक क्षेत्रका कार्यक्रम, सेवा प्रवाह सुधार तथा आर्थिक विकासका गतिविधिहरूलाई प्राथमिकता दिइएको जनाइएको छ।
नगरसभामा आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रममाथि छलफलसमेत गरिएको थियो। जनप्रतिनिधि तथा सरोकारवालाहरूले नगर विकासका विभिन्न विषयमा सुझाव राखेका थिए। नगरपालिकाले प्राप्त सुझावलाई कार्यान्वयन प्रक्रियामा समेट्ने प्रतिबद्धता जनाएको छ।
कार्यक्रमका क्रममा शिक्षा, स्वास्थ्य, सामाजिक सेवा, खेलकुद, कला–संस्कृति तथा अन्य विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने विशिष्ट व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो। नगरपालिकाले समाज र नगर विकासमा पुर्याएको योगदानको कदर गर्दै सम्मान प्रदान गरेको जनाएको छ।
नगरपालिकाको सभाहलमा आयोजित नगरसभामा जनप्रतिनिधि, कर्मचारी, राजनीतिक दलका प्रतिनिधि, सुरक्षा निकाय, सञ्चारकर्मी तथा विभिन्न क्षेत्रका सरोकारवालाहरूको सहभागिता रहेको थियो।
नगरसभाले आगामी आर्थिक वर्षका लागि विकास र सेवा प्रवाहका स्पष्ट प्राथमिकता निर्धारण गरेको तथा प्रस्तुत बजेट र कार्यक्रमले नगरवासीको आर्थिक तथा सामाजिक विकासमा सकारात्मक योगदान पुग्ने विश्वास व्यक्त गरिएको छ।





.jpg)