ट्रेण्डिङ

होमपेज / समाज

बनगाड कुपिण्डेमा वृद्ध महिलाको शव फेला

  सल्यान खबर २०८३ श्रावण ११ गते सोमबार २०:२४:२८ मा प्रकाशित

सल्यान। सल्यानको बनगाड कुपिण्डे नगरपालिकामा एक वृद्ध महिलाको शव फेला परेको छ।

जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार बनगाड कुपिण्डे नगरपालिका–९ जैतपानीस्थित सडकको दक्षिणतर्फ रहेको नालीमा एक महिलाको शव फेला परेको भन्ने सूचना प्राप्त भएपछि प्रहरी टोली घटनास्थल पुगेको थियो।

प्रहरीका अनुसार घटनास्थलमा पहेँलो कुर्ता र कालो सुरुवाल लगाएकी महिला कोल्टो परेको अवस्थामा मृत फेला परेकी थिइन्। उनको टाउकोमा चोट समेत देखिएको प्रहरीले जनाएको छ।

प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा मृतकको सनाखत शारदा नगरपालिका–५ रानीकोट निवासी ७३ वर्षीया टिका बुढाथोकीका रूपमा भएको छ। मृतकका भतिज पूर्णबहादुर बुढाथोकीले शवको सनाखत गरेका हुन्।

प्रहरीले आवश्यक कानुनी प्रक्रिया तथा शव परीक्षण (पोष्टमार्टम) सम्पन्न गरेपछि शव आफन्त पूर्णबहादुर बुढाथोकीलाई जिम्मा लगाएको जनाएको छ।

घटनाको कारणबारे जिल्ला प्रहरी कार्यालय सल्यानले थप अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top