ट्रेण्डिङ

होमपेज / अर्थ

त्रिवेणी गाउँपालिकाले ल्यायो ५९ करोड २१ लाखको बजेट, शिक्षा र स्वास्थ्यमा विशेष प्राथमिकता

  सल्यान खबर डेस्क २०८३ असार ८ गते सोमबार २१:१७:०१ मा प्रकाशित

त्रिवेणी गाउँपालिकाको १९औँ गाउँसभाको पहिलो अधिवेशनले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि नीति तथा कार्यक्रम, बजेट, आर्थिक विधेयक तथा विनियोजन विधेयक पारित गर्दै सम्पन्न भएको छ। गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ५९ करोड २१ लाख ९५ हजार ६ सय ६५ रुपैयाँ बराबरको बजेट विनियोजन गरेको छ।

पारित बजेटअनुसार कुल बजेटको ६० प्रतिशत चालु तथा ४० प्रतिशत पुँजीगत खर्चतर्फ विनियोजन गरिएको छ। पूर्वाधार विकासका विभिन्न आयोजना कार्यान्वयनका लागि मात्रै १२ करोड ९८ लाख ४३ हजार रुपैयाँ छुट्याइएको छ।

गाउँपालिकाले वडा नं. २ को वडा कार्यालय भवन निर्माणका लागि १ करोड ७८ लाख रुपैयाँ, ढुंगीबजार–पिमखोला–मखनटाकुरी हुँदै दाङ जोड्ने सडक स्तरोन्नतिका लागि १ करोड ८८ लाख रुपैयाँ तथा लुहाम–फलाबाङ–मखनटाकुरी सडक स्तरोन्नतिका लागि १ करोड ३३ लाख रुपैयाँ विनियोजन गरेको छ। त्यस्तै लुहाम–ढोरचौर–आकाशी सडक स्तरोन्नति आयोजनाका लागि ३ करोड रुपैयाँ तथा वडा नं. ४ फलाबाङमा गौशाला निर्माणका लागि ५० लाख रुपैयाँ बजेट छुट्याइएको छ।

कृषि उत्पादन वृद्धि तथा सिँचाइ सुविधाको विस्तारका लागि पाखे, दार्यारह, तल्लो डाँडा बार्ने, कुहिरे रह र गौरे ज्यूला सिँचाइ कुलो निर्माण आयोजनामा जनही ३४ लाख रुपैयाँका दरले बजेट विनियोजन गरिएको छ।

स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राख्दै त्रिवेणी स्वास्थ्य चौकीलाई आधारभूत अस्पतालका रूपमा स्तरोन्नति गर्न, आवश्यक उपकरण खरिद, बर्थिङ सेन्टर व्यवस्थापन, फार्मेसी सञ्चालन तथा एमबीबीएस डाक्टरसहित विशेषज्ञ सेवा उपलब्ध गराउन ६० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ। साथै मृगौला प्रत्यारोपण गरेका, डायलाइसिस गराइरहेका, क्यान्सर तथा मेरुदण्ड पक्षघातका बिरामीलाई मासिक ५ हजार रुपैयाँ औषधि उपचार सहायता उपलब्ध गराइने भएको छ।

शिक्षा क्षेत्रतर्फ सामुदायिक माध्यमिक विद्यालयमा विज्ञान प्रयोगशाला र कम्प्युटर ल्याब स्थापना, प्राथमिक विद्यालयमा ल्यापटप तथा फोटोकपी मेसिन वितरण, आधारभूत विद्यालयमा ई–हाजिरी जडान लगायतका कार्यक्रमका लागि ४० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ। सामुदायिक विद्यालयका सम्पूर्ण विद्यार्थीको बीमा गरिने तथा एसईई परीक्षार्थीका लागि अतिरिक्त कक्षा सञ्चालन गर्न ८ लाख ५० हजार रुपैयाँ छुट्याइएको छ।

गाउँपालिकाले एसईईमा ४ जीपीए ल्याउने विद्यार्थीलाई १ लाख रुपैयाँ नगद पुरस्कार प्रदान गर्ने घोषणा गरेको छ। उत्कृष्ट विद्यालय, शिक्षक तथा विद्यालय व्यवस्थापन समितिलाई समेत पुरस्कृत गरिने भएको छ।

युवालाई खेलकुदतर्फ आकर्षित गर्न अध्यक्ष कप, राष्ट्रपति रनिङ शिल्ड, क्रिकेट तथा फुटबल प्रतियोगिता सञ्चालन गरिने भएको छ। त्यस्तै “सुरक्षित आवास, गाउँपालिकाको विश्वास” अभियानअन्तर्गत गाउँपालिकाभित्रका सबै घरको बीमा गरिने नीति पनि ल्याइएको छ।

गाउँसभाले श्रमिकको पारिश्रमिक बैंक खातामार्फत भुक्तानी गर्ने व्यवस्था, श्रमिक दुर्घटना बीमा तथा कर्मचारी र शिक्षकहरूको पारिश्रमिक वृद्धि सम्बन्धी कार्यक्रमलाई समेत स्वीकृत गरेको छ। बालविकास शिक्षक, विद्यालय लेखापाल, कार्यालय सहयोगी तथा गाउँपालिका अनुदान शिक्षकको पारिश्रमिक वृद्धि गरिएको गाउँपालिकाले जनाएको छ।

गाउँसभाको समापनसँगै गाउँपालिकाले आगामी आर्थिक वर्षमा शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार तथा सामाजिक सुरक्षालाई प्राथमिकतामा राखेर विकास कार्यक्रम कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top