होमपेज / समाज
पदम थापा असार १४,सल्यान
प्रतिभा माध्यमिक विद्यालय बनगाड कुपिण्डे नगरपालिका ९ जयतपानीमा बालविवाह अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । बनगाड कुपिण्डे नगरपालिका महिला तथा बालबालिका शाखा सल्यानको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा कक्षा ८,९ र १० का विद्यार्थीको सहभागिता रहेको थियो । कार्यक्रममा बोल्दै महिला स्वास्थ्य शाखाकी निरीक्षक निरु शाही ले बिहे वारी २० बर्ष पारी भन्ने नारालाई आत्मसाथ गर्नु पर्ने बताउनु भयो ।
बालविवाहले बालबालिकाहरूलाई आधारभूत अधिकारबाट वञ्चित मात्र गराउँदैन आफ्नो भविष्यको छनौट गर्ने अधिकार तथा सो सम्बन्धमा निर्णय लिने प्रक्रियामा सहभागी हुने अवसरबाट पनि वञ्चित गराउने उहाँको भनाई छ । विशेष गरी बालिका र महिलाको सन्दर्भमा बालविवाहले एउटा मात्रै अधिकारको उल्लङ्घन नगरी उनीहरूको जीवनचक्रमा थुप्रै अधिकार उल्लङ्घनको श्रृङ्खला सिर्जना गरी थप हिंसाको कुचक्रमा पर्ने अवस्था रहने उहाँको भनाई छ ।
बालबिवाहको कारण वैवाहिक जीवन दिगो नहुने, परिपक्व नभइ सन्तान जन्माउँदा स्वास्थ्य सम्बन्धी विभिन्न समस्याहरू देखिने, लैंगिक हिंसा, यौनजन्य हिंसा, बालश्रम, बेचबिखन जस्ता थप हिंसाहरूले बालिका र महिलाहरू थप पीडित हुन पुग्ने शाहीको भनाई छ । कालान्तरमा समाज विकास प्रक्रियामा महिलाहरूको भूमिका र सहभागितालाई न्यून बनाइ सभ्य, सु–संस्कृत एवम् समतामूलक समाज निर्माण गर्न बालविवाह बाधक बन्ने उहाँले बताउनु भयो ।





.jpg)