होमपेज / राजनीति
बैशाख ११, २०७७ :
सरकारले छिमेकी मुलुकहरुमा कोरोना भाइरसको जोखिमको अवस्था हेरेर लक डाउनका खोल्ने विषयमा निर्णय हुने बताएको छ। विश्व कोरोना महामारीको रुपमा फैलिएको कोरोना संक्रमणको जोमिख नेपालमा पनि रहेकाले लक डाउन खोल्ने निर्णय एकपक्षीय रुपमा गर्न नसकिने सरकारले बताएको हो।
छिमेकी मुलुकहरुमा कोरोना नियन्त्रण र जोखिमको अवस्था हेरेर लक डाउन खोल्ने-नखोल्ने विषयमा निर्णय हुने सरकारका प्रवक्ता समेत रहेका अर्थ र सञ्चार तथा सूचनाप्रविधिमन्त्री डा. युवराज खतिवडाले बताए। 'छिमेकी मुलुकहरुमा यसको नियन्त्रणको अवस्था कस्तो छ।
जोखिमको अवस्था नहेरी एकपक्षीय ढंगले निर्णय गर्ने अवस्था रहँदैन', उनले भने। लक डाउनको समयमा पनि खुला सीमानाका कारण लुकिछिपी नेपाल प्रवेश गर्ने गरेको पाइएको उनले बताए। मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आयोजना भएको पत्रकार सम्मेलनमा प्रवक्ता खतिवडाले लुकिछिपी नेपाल आउनेहरुका कारण पनि नेपालमा कोरोना संक्रमणको जोखिम बढेको बताए।
प्रवक्ता खतिवडाले छिमेकी मुलुकमा कोरोना रोकथामको प्रयास र नेपालमा स्वास्थ्य उपचारको पूर्व तयारी, स्वास्थ्य परीक्षणका विधिहरु, उपकरण तथा स्वास्थ्यकर्मी अवस्थालाई ध्यानमा राखेर लक डाउन खुल्ने बताए। नागरिकहरुमा कोरोनाप्रति चेतनाको विकास भएको कतिको भएको भन्ने कुराले पनि प्रभाव पार्ने उल्लेख गर्दै उनले जोखिममुक्त छौँ भन्ने भएपछि मात्रै खोल्ने निर्णय हुने बताए।
प्रवक्ता खतिवडाले असंगठित क्षेत्रमा कार्यरत श्रमिकहरुलाई काममा आवद्ध गर्न आधारभूत उद्योग, विकास निर्माणका काम र केही सेवा क्षेत्रहरु खुला गर्ने तयारी सरकारले गरेको पनि उनले बताए।





.jpg)