होमपेज / राजनीति
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सल्यानले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फका उम्मेदवारका लागि पाँचजनाको नाम सिफारिस गरेको छ।
तत्कालीन नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी)लगायतका दलबिच एकतापश्चात् खलंगामा बिहीबार बसेको एकता सन्देश भेलाले पाँचजनाको नाम सिफारिस गरेको नेकपाका नेता मानबहादुर मल्लले जानकारी दिए।
सिफारिस हुनेहरूमा खुलातर्फ टेकबहादुर बस्नेत, युवा र दलितबाट धनबहादुर परियार, निवर्तमान सांसद प्रकाश ज्वाला, रमेश मल्ल र महिलाबाट सीता विष्ट बस्नेत रहेका मल्लको भनाइ छ।
तीनपटक लगातार निर्वाचित टेकबहादुर बस्नेतको नाम यसपटक पनि सिफारिस भएको हो। ०६४ देखि ०७४ सम्मका तीन निर्वाचनमा लगातार निर्वाचित भएर बस्नेतले ह्याट्रिक मारिसकेका छन्। सामान्य प्रशासनमन्त्रीसम्मको उनको अनुभव छ।
निवर्तमान सांसद ज्वाला तत्कालीन एकीकृत समाजवादीका उपमहासचिव तथा कर्णाली प्रदेश सदस्य थिए। ज्वालाले ६ पटक संसदीय चुनावमा भाग लिइसकेका छन्। ज्वाला सल्यानबाट ०५१ सालयता निरन्तर चुनाव लड्दै आएका छन्। ०५१ र ०६४ बाहेकका सबै निर्वाचन उनले जितेका छन्। ०५६, ०७१, ०७४ र ०७९ मा उनी निर्वाचित भएका हुन्।
तत्कालीन नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डको सचिवालयमा लामो समय काम गरेका रमेश मल्ल पनि प्रत्यक्षतर्फको निर्वाचनका लागि सिफारिस भएका छन्। विद्यार्थी राजनीतिबाट उदाएका मल्ल प्रचण्डको सचिवालयमा दुईपटक पर्न सफल भएका थिए।
यस्तै, समानुपातिकतर्फ खस–आर्य उमाकान्त शर्मा, दलित महिला पवित्रा विक, जनजाति प्रमोद श्रेष्ठ र महिलाबाट प्रेमा अधिकारीको नाम सिफारिस गरेको मल्लले बताए। राष्ट्रिय सभा सदस्यका लागि रत्नबहादुर ओलीको नाम एकल सिफारिस भएको छ।






.jpg)