होमपेज / राजनीति
साउन २९,सल्यान
सल्यानको बनगाड कुपिण्डे नगरपालिका ११ ले गाउँमै गई सामाजिक सुरक्षा भत्ता वितरण गरिरहेको छ । वर्सातको समयमा अवरुद्ध बनेको सडकलाई नगरपालिकाको डोजर लगाएर सफा गदै गाउँमा पुगेर सामाजिक सुरक्षा भत्ता प्रदान गरिएको हो ।
बर्सातको समयमा गाउँबाट प्रशासनिक केन्द्रमा आउन घण्टौँ लाग्ने र सुरक्षाबापतको भत्ता बाटामै सकिने भएकाले गाउँमै पुगेर भत्ता वितरण गरिएको वडाध्यक्ष विर बहादुर बुढाले जानकारी दिनु भयो । लगातारको वर्षातले ठाउँ ठाउँमा अवरुद्ध बनेको सडकलाई सुचारु गर्दै गाउँमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरिएको उहाँको भनाई छ ।
उहाँले भन्नु भयो , ‘वडा भित्रका ज्येष्ठ नागरिक र अपाङ्गता भएका नागरिकलाई गाउँमै पुगी सामाजिक सुरक्षा भत्ता वितरण गरिरहेका छौँ, नगरपालिकाको केन्द्र र बैंक शाखामा पुग्न घण्टौँ लाग्ने र नगरवासीले निकै सास्ती खेप्नुपर्ने बाध्यताको अन्त्य गर्न गाउँमा पुगेर भत्ता वितरण गर्ने निर्णय गरेका हौँ ।’
बर्खाको समयमा सबै ठाउँमा गाडी नपुग्ने तथा नागरिकले धेरै सास्ती व्यहोर्नुपर्ने भएकाले वडा कार्यालयबाट भत्ता वितरण भइरहेको बुढाले बताउनु भयो । ‘बैंकबाट रकम भुक्तानी गर्ने कुरा पारदर्शिता र आर्थिक सुशासनका हिसाबले धेरै उपयुक्त छ तर भत्ताको रकम बैंकमा आएर लिन टाढाबाट आउने व्यक्तिलाई सकस देखिएको छ, प्रभावकारी छैन, त्यसैले नजिकैको स्थानबाट भत्ता वितरण गरिएको हो’, उहाँले भन्नु भयो ।
सरकारले लागू गरेको सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत विभिन्न प्रकारका सामाजिक सुरक्षा भत्ता तोकिएका लाभग्राहीले बैंक खातामार्फत पाउने व्यवस्था गरिएको छ तर ज्येष्ठ तथा शारीरिकरूपमा अशक्तको अप्ठ्यारालाई मध्यनजर गर्दै गाउँमै भत्ता वितरण गर्ने व्यवस्था मिलाइएको बुढाले बताउनु भयो ।





.jpg)