होमपेज / राजनीति
भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले सार्वजनिक खरिद ऐन संशोधन नगरेसम्म विकास निर्माणका काम अस्तव्यस्त भइरहने बताएका छन्
मंगलवार प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै उनले सार्वजनिक खरिद ऐनलाई संशोधन नगरेसम्म विकास निर्माणका काम अस्तव्यस्त भइरहने बताए। उनले सार्वजनिक खरिद ऐनलाई विकासमैत्री बनाउन संशोधन गर्नुपर्ने माग गरे।
त्यसैगरी उनले सडकको वर्गीकरण गर्न जरुरी रहेको उल्लेख गर्दै मन्त्रालयले सडक वर्गीकरणका लागि प्रतिवेदन पेस गर्न समिति बनाएको जानकारी दिए। उनले प्रतिवेदन आइसकेपछि मन्त्रिपरिषद्मा लगेर कार्यान्वयन गरिने जानकारी दिए। मन्त्री ज्वालाले संसदीय समिति र सरकारबीच टसल हुने अवस्था आउन नहुने भन्दै आपसमा मिलेर काम गर्नुपर्ने बताए।
उनले भने‚ ‘सार्वजनिक खरिद ऐन जुन छ, ऐनअनुसार नियमावली समेत सार्वजनिक खरिद ऐन विकासमैत्री हुने गरी पुनःव्यवस्थित नगरेसम्म विकास निर्माणका काम यस्तै अस्तव्यस्त हुन्छ। सडकको वर्गीकरण गर्न जरुरी छ। संघ‚ प्रदेश र स्थानीय तहले के गर्नुपर्ने हो? त्यसको एउटा क्याटगरी गरेर अर्जुन थापाको नेतृत्वमा हामीले समिति बनाएका छौँ। उहाँले प्रतिवेदन दिनुहुन्छ। त्यो प्रस्ताव क्याबिनेटमा लिएर पास गरेर त्यसलाई कार्यान्वयन गराउँछौँ। के देखिन्छ भने कतिपय वेला समिति र सरकारबीच टसल जस्तो हुने। त्यो हुनुपर्दैन। समितिका सुझाव कार्यान्वयन गर्ने हो। समितिले पनि मन्त्रीलाई दबाब दिऊँ‚ हैरान पारौँ भन्ने ढंगले होइन रचनात्मक किसिमले सहयोग गर्नुपर्छ।’
उनले समितिले आफ्नो मन्त्रालयमा दिने निर्देशन लागू गर्ने प्रतिबद्धता व्यक्त गरे।





.jpg)