ट्रेण्डिङ

होमपेज / राजनीति

छोटो विधिबाट खरिद र सबै प्रदेशमा ल्याबको व्यवस्था गर्न मुख्यमन्त्रीहरूको माग

  सल्यान खबर २०७६ चैत्र २ गते आइतबार १९:५१:५८ मा प्रकाशित

चैत २, २०७६ काठमाडौं :

नोभल कोरोना (कोभिड १९)बाट हुन सक्ने सम्भावित दुर्घटनाको नियन्त्रणका लागि सवास्थ्य सामग्रीको अभाव रहेको प्रदेश सरकारले बताएका छन्।

नोभल कोरोना रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको आइतबार सिंहदरबारमा बसेको बैठकमा प्रदेश सरकारका मुख्यमन्त्रीले कोरोना भाइरस नियन्त्रणका लागि स्वास्थ्य सामग्रीको अभाव रहेको बताएका हुन्।

नजिकको बजारमा तत्काल स्वास्थ्य सामग्री उपलब्ध नहुने र खरिद प्रकृया पनि झण्झटिलो र जटिल भएकाले छोटो विधिबाट खरिद गर्ने व्यवस्था मिलाउन उनीहरूले आग्रह गरेका छन्। त्यस्तै, स्वास्थ्यकर्मीको बीमादेखि अन्य सामाजिक सुरक्षाका कुरा व्यवस्थित गर्नसमेत माग गरेका छन्।

बैठकपछि पत्रकारसँग कुरा गर्दै कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबाहदुर शाहीले भाइरस परीक्षणका लागि काठमाडौं ल्याउनुपर्ने अवस्थामा देशभर कोरोना भाइरस फैलिएमा सम्भव नहुने भन्दै प्रत्येक प्रदेशमा एकवटा ल्याबको व्यवस्था गर्नुपर्ने माग राखेको बताए।

उनले उपचारमा प्रयोग हुने सवास्थ्य सामग्रीको अभाव भएको र कोरोना संक्रमण भएकालाई उपचार गर्न छुट्टै अस्पतालको व्यवस्था गर्नुपर्ने विषयमा समेत छलफल भएको बताए। प्रदेश-१ का मुख्यमन्त्री शेरधन राईले व्यवस्थित ढंगबाट संघ, प्रदेश र स्थानीय तहको बीचमा समन्वय गरेर प्रभावकारी रूपबाट सावधानी अपनाउने र उपचारको लागि तयारी गर्ने विषयमा छलफल केन्द्रीत भएको बताए।

प्रधानमन्त्री तथा मन्त्रिपरिष्दको कार्यालयका सचिव नारायण प्रसाद बिडारीले संघ, प्रदेश र स्थानीय तहले कोरोना भाइरस संक्रमणबाट बच्न अझ प्रभावकारी रुपमा काम गर्ने एकताबद्धता जनाएको बताए। उनले नागरिक सचेतना कार्यक्रम गर्ने, कोरोना भाइरसबाट संक्रमण भएको पाइए उपचारलाई व्यवस्थित बनाउने, नाकाको आवगमनमा निगरानी र कडाई गर्ने विषयमा छलफल भएको बताए। उनले स्वास्थ्य निगरानी र प्रयोगशालाको स्थितिलाई अझ सुधृढ पार्दै लैजाने र सातै प्रदेशमा प्रयोगशाला बनाउने तर्फ योजनाबद्धरूपमा काम अगाडि बढाउने निर्णय भएको बताए।

त्यस्तै आपूर्ति व्यवस्थालाई सहज र नियमित राख्न तीन वटै तहबाट नियमित अनुगमनको काम गर्ने विषयमा समेत छलफल भएको उनले बताए। बैठकमा अन्तर्राष्ट्रिय नाकामा र हवाई अड्डामा अपनाइएको सुरक्षाको विषयमा समेत छलफल भएको थियो। त्यस्तै, प्रदेशमा आइसोलेटेड बेडहरुको व्यवस्था गर्ने विषयमा गरिएको तयारीका विषयमा मुख्यमन्त्रीले जानकारी गराएका थिए। त्यस्तै, क्वारेन्टाइनमा राख्नुपर्ने अवस्थामा गरिएको पूर्वतयारीका विषयमा समेत छलफल भएको थियो।  
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top