ट्रेण्डिङ

होमपेज / राजनीति

प्रधानमन्त्री ओलीको भारतीय समकक्षी मोदीलाई सन्देश : सीमा विवाद वार्ताबाटै हल गरौँ

  सल्यान खबर २०७७ मंसिर १२ गते शुक्रबार १३:३७:२१ मा प्रकाशित

प्रधानमन्त्री केपी ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई सीमा विवादलगायतका समस्या वार्ताको माध्यमबाट समाधान गर्नुपर्ने सन्देश पठाएका छन् । 

दुईदिने नेपालमा भ्रमणमा रहेका भारतीय विदेशसचिव हर्षबर्धन शृंगलामार्फत प्रधानमन्त्री ओलीले यस्तो सन्देश पठाएका हुन् । 

प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार भएको शिष्टाचार भेटमा प्रधानमन्त्री ओलीले सीमा विवादलगायत नेपाल–भारतबीच देखिएका समस्या वार्ताको माध्यमबाट हल गर्नुपर्ने सन्देश पठाएको प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराईले जानकारी दिए । 

भेटमा विदेशसचिव शृंगलाले नेपाल–भारत सम्बन्धलाई अगाडि बढाउनका लागि भारत सकारात्मक रहेको र समस्याहरूलाई  वार्ताको माध्यमबाट सामान गर्न चाहेको मोदीको सन्देश प्रधानमन्त्रीलाई सुनाएका थिए । 

जवाफमा प्रधानमन्त्री ओलीले आफूहरूले पनि वार्ताकै माध्यमबाट समस्याहरू समाधान गर्न चाहेको बताएका हुन् । 

प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार भट्टराईले भने, ‘भारतीले विदेशसचिवले हाम्रा समस्यालाई वार्ताद्वारा समाधान गर्न चाहन्छौँ भन्ने भारतीय प्रधानमन्त्रीको सन्देश रहेको कुरा बताउनुभयो । त्यसै क्रममा हाम्रो प्रधानमन्त्रीले हामी पनि नेपाल–भारत सम्बन्धलाई अत्यन्त महत्व दिन्छौँ र यो सम्बन्धलाई राम्रो बनाउन चाहन्छौँ । यसलाई अझ माथिल्लो तहबाट अगाडि बढाएर लिएर जान चाहन्छौँ । नयाँ उचाईमा पुऱ्याउन चाहन्छौँ । त्यसका लागि हामीले हामीसित रहेका केही समस्याहरू छन्, तिनीहरूको समस्या संवादको माध्यमबाट गर्नुपर्छ, सीमालगायतका सबै विषयलाई दुईपक्षीय संवादका माध्यमबाट हामीले हल गरौँ, त्यो हल गरेर नै हामीले समस्याहरूलाई थाती राखेर होइन, तिनीहरूको समाधान गर्दै अगाडि जाँदा नै नेपाल–भारत सम्बन्धले नयाँ उचाइ प्राप्त गर्दछ ।’

प्रधानमन्त्री ओलीले दुईपक्षीय भ्रमणहरूले वार्ताको वातावरण बनाउन सकारात्मक भूमिका खेल्ने पनि बताएका थिए । 

नेपाल सुरुबाट नै वार्ताको पक्षमा रहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले समस्याका समाधानहरू छलफल र वार्ताबाट हुन सक्ने बताएको भट्टराईले जानकारी दिए । 

डा. भट्टराईका अनुसार प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्री मोदीलाई पठाएको सन्देशमा भनिएको छ, ‘इतिहासको विभिन्न कालखण्डामा उब्जिएका समस्याहरू तिनीहरूको समाधान अहिले हामीले गरेर जान सक्दाखेरि म पनि र भारतीय प्रधानमन्त्री मोदीजी पनि नेपाल–भारत सम्बन्धलाई राम्रो बनाउने प्रतिबद्धता मान्यताबाट अगाडि निर्देशित छ । र, त्यही मान्यतामा हामी सहमत छौँ । त्यसो भएको हुनाले समस्याको समाधान वार्ताको माध्यमबाट गरौँ ।’

वार्ताका लागि विभिन्न संयन्त्रहरू निर्माण भए पनि बैठक बस्न नसकेको अवस्थामा प्रधानमन्त्री र विदेशसचिवको शिष्टाचार भेटमा बैठक बस्ने तय भएको उनले बताए । 

परराष्ट्रमन्त्रीस्तरीय बैठकको मिति टुंगिएपछि बैठक बस्ने तय भएको पनि उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top