होमपेज / राजनीति
सरकार र सिके राउतबीच भएको ११ बुँदे सहमतिले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीमा विवाद देखिएको छ। हस्ताक्षरमा सहमति भएकै दिन केही नेताहरूले असन्तुष्टी व्यक्त गरेका थिए। पछिल्लो समय भने दुबै पक्षले सामाजिक सञ्जालमा आरोप-प्रत्यारोपमा उत्रिएका छन्।
नेकपाका सचिवालय सदस्य तथा प्रवक्ता नारायणकाजी श्रेष्ठ र स्थायी समिति सदस्य भीम रावलले सहमतिमा प्रयोग भएको भाषाको विरोध गरेपछि प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल नेताहरूमाथि नै त्यही शैलीमा जवाफ फर्काएका छन्। रावलले आइतबार प्रतिनिधि सभामा समेत सहमतिको भाषालाई लिएर विरोध जनाएका थिए।
रावलले राति सामाजिक सञ्जाल ट्वीटरमा ‘देशको हितमा बोल्दा कसैको टाउको दुःखे देशभक्तिको चक्की खानु उचित होला’ भन्दै टिप्पणी लेखेका छन्।
सहमतिमा हस्ताक्षर हुनु केही समय पहिलेमात्र राउतसँग भएको सहमतिबारे थाहा पाएका सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले ‘नयाँ नेपाल बनाउने कि देशमाथि खेलवाड गर्ने’, भन्दै प्रश्न गरेका छन्। उनले सहमतिलाई इङ्गित गर्दै ‘गम्भीर आत्मसमीक्षा’ गर्दै राजनीति सफा पार्नु पर्ने तर्क गरेका छन्।
राष्ट्रिय सभा गृहबाट सहमति घोषणा अघि बालुवाटारमा राउतसँग सहमतिका लागि भएको छलफलमा सहभागी प्रधानमन्त्रीका मुख्य सल्लाहकारले भने पार्टीकै नेताहरुलाई व्यङ्ग कसेका छन्।
‘नेताहरू- झुक्किए, फसे वा फसाईए या तिनिहरूले गल्ति नै गरे पनि कोईवात छैन’, रिमालले लेखेका छन्, ‘हामी धन्य छौं, मुलुक जोगाउने 'एक-से-एक उहाँहरू हुनुहुन्छ। आङ् सिरिङ्ग हुन्छ र साह्रै आश्चर्य लागि रहेको छ, 'उहाँहरूको जन्म अघि यो मुलुक कसरी जोगिए छ?’





.jpg)