ट्रेण्डिङ

होमपेज / कला/साहित्य

पुष्पकमल, तिमी आफैं त फुल्यौ हिलोमा तर, रूखमा फलायौं मानिसहरु

  सल्यान खबर २०७६ मंसिर ६ गते शुक्रबार २३:१८:०५ मा प्रकाशित

जुन रूखमा फुल्नु थियो फूलहरू
जुन हाँगामा लर्कनु थियो फलहरू
पुष्पकमल, तिमी आफैं त फुल्यौ हिलोमा
तर ती रूखमा फलायौं मानिसहरु

कोही हाँगाबाट तुर्लुंग, सहन नसकी तिमीले दिएको पीडा
कोही बाँधिए रूखमा, खाएर गोली छातीमा
पुष्पकमल, तिमी आफैं त फुल्यौ हिलोमा
तर चाङैचाङ लागे लासहरू, असमयमै जले चिताहरू

त्यही हिलोमा डुबी मरे कति, कति भए मरणासन्न
भोक भोकै मरे, प्यास प्यासै मरे, मरे वियोगको पीडामा
पुष्पकमल, तिमी आफैं त फुल्यौ हिलोमा
तर त्यही हिलोले खायो, पचायो, अनि बिर्स्यो दशौं हजार

सुन्छु, हिलोमा फुलेका कमल तिमी, निधारमा तिलक घसेर हिँड्छौ रे
यज्ञहरूमा थोक मात्रामा तिम्रा पाप पखालिन्छन् रे, पुण्य सँगालिन्छन् रे
पुष्पकमल, तिमी आफैं त फुल्यौ हिलोमा
यता न उता हामी, व्यर्थै मर्यौ अकालमा

तिम्रो वासना मात्र सुँघ्नेहरु, अरबौंका मालिक छन् रे
तिम्रो कालो धन सेतो बनाउनेहरु, मेडिकल कलेज खोल्दै हिड्दै छन् रे 
पुष्पकमल, तिमी आफैं त फुल्यौ हिलोमा
देश छ रे शोकमग्न, बाकसमा फर्किरहेछन् रे युवाहरु

पुष्पकमल, जवाफ देऊ, सत्र हजारको शहादत
के दशौं अर्ब लुट्न, बेलारूस पठाउन, त्यहाँबाट नेपाल भित्र्याउन र लगानी गर्न थियो?
के क्रान्तिको प्रलोभन, 
कालो धनले व्यवसाय खोल्न र त्यसका लागि कानुन बनाउन थियो?

पुष्पकमल, तिमी आफैं त फुल्यौ हिलोमा
तर त्यही हिलोमा फसायौ देशलाई, अनि कंगाल बनायौ हामीलाई
तिमी त निस्क्यौ फूल बनेर, हामीलाई डुबायौ दलदलमा
पुष्पकमल, तिमी आफैं त फुल्यौ हिलोमा
तर रुखमा फालायौ मानिसहरु

प्रतिक्रिया

सम्बन्धित खवर

Top