होमपेज / कला/साहित्य
कर्मचारी मिलन केन्द्र सल्यानले जिल्लाको ऐतिहासिक, सामाजिक, सांस्कृतिक तथा प्रशासनिक पक्षलाई समेटिएको ‘सल्यान दर्पण–२०८३’ स्मारिका प्रकाशन गरेको छ। जिल्लाभित्र कार्यरत सरकारी तथा गैरसरकारी कर्मचारीहरूको साझा संस्था कर्मचारी मिलन केन्द्रले जिल्लाको पहिचान, सार्वजनिक सेवा प्रवाह र कर्मचारीहरूको सिर्जनात्मक योगदानलाई दस्तावेजीकरण गर्ने उद्देश्यले स्मारिका प्रकाशन गरेको हो।
खलंगामा आयोजित एक कार्यक्रमका बीच जिल्ला न्यायाधीश प्रह्लादकुमार योगी र प्रमुख जिल्ला अधिकारी महेन्द्रकुमार सापकोटाले संयुक्त रूपमा स्मारिकाको विमोचन गर्नुभयो।
स्मारिका प्रकाशन समितिका संयोजक चन्द्रकमल खड्काका अनुसार ‘सल्यान दर्पण–२०८३’ जिल्लाको विशिष्ट पहिचान, सार्वजनिक निकायहरूको परिचय, सेवा प्रवाहको प्रक्रिया तथा कर्मचारीहरूको सिर्जनशीलतालाई दीर्घकालीन रूपमा अभिलेखीकरण गर्ने उद्देश्यले प्रकाशन गरिएको हो। उहाँले स्मारिका केवल कर्मचारीहरूको प्रकाशन नभई सल्यान जिल्लाको समग्र परिचय समेटिएको सन्दर्भ सामग्रीका रूपमा तयार गरिएको बताउनुभयो।
स्मारिकामा सल्यान जिल्लाको आर्थिक, सामाजिक, सांस्कृतिक, ऐतिहासिक तथा आध्यात्मिक पक्ष सम्बन्धी विवरणात्मक र अनुसन्धानमूलक लेखहरू समावेश गरिएका छन्। साथै सार्वजनिक सेवा प्रवाह, सुशासन तथा सामाजिक जीवनसँग सम्बन्धित लेखका साथै कविता, गीत, गजल, कथा, संस्मरणलगायत गरी ३० वटा लेख–रचना समेटिएका छन्।
स्मारिकामा प्रमुख जिल्ला अधिकारी महेन्द्रकुमार सापकोटा, नेपाल सरकारका सहसचिव तथा सल्यानका पूर्व प्रमुख जिल्ला अधिकारी नेत्र सुवेदी, जिल्ला अदालत सल्यानका श्रेस्तेदार कमलकुमार आचार्य, बागचौर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टंक भट्टराई लगायत विभिन्न सरकारी कार्यालयका प्रमुख तथा कर्मचारीका लेखहरू प्रकाशित भएका छन्। त्यसैगरी साहित्यकार तथा पत्रकार पूर्ण भण्डारी ‘पंकज’, भद्रसिंह बुढा ‘भद्र भास्वर’, नेपाल पत्रकार महासंघ सल्यान शाखाका पूर्वअध्यक्ष प्रतिक इच्छुक शर्मा, वर्तमान कोषाध्यक्ष खकेन्द्र केसी लगायत जिल्लाका विभिन्न क्षेत्रका व्यक्तित्वहरूको रचना पनि समावेश गरिएको छ।
कार्यक्रममा बोल्दै जिल्ला न्यायाधीश प्रह्लादकुमार योगीले जिल्लाको इतिहास, संस्कृति, प्रशासनिक अभ्यास र साहित्यलाई एकै ठाउँमा समेट्ने प्रयास प्रशंसनीय भएको बताउनुभयो। उहाँले स्मारिकाले भावी पुस्ताका लागि महत्वपूर्ण दस्तावेजका रूपमा काम गर्ने विश्वास व्यक्त गर्दै यसको प्रकाशनमा योगदान गर्ने सबैप्रति धन्यवाद व्यक्त गर्नुभयो।
प्रमुख जिल्ला अधिकारी महेन्द्रकुमार सापकोटाले ‘सल्यान दर्पण–२०८३’ जिल्लाको समग्र परिचय दिने उपयोगी दस्तावेज बनेको उल्लेख गर्दै यसले कर्मचारी मात्र नभई अनुसन्धानकर्ता, विद्यार्थी, पत्रकार तथा आमपाठकलाई समेत सल्यानबारे जानकारी लिन महत्वपूर्ण स्रोतका रूपमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो।
सोही अवसरमा सशस्त्र प्रहरी बल नेपाल, गुल्म हेडक्वार्टर सल्यानमा नवआगमन भएका गुल्मपति सशस्त्र प्रहरी नायब उपरीक्षक दीपकराज गुरुङ तथा पशु अस्पताल तथा पशु सेवा कार्यालय सल्यानका प्रमुख अनुप श्रेष्ठलाई स्वागत गरिएको थियो। साथै सरुवा भई अन्यत्र जान लाग्नुभएका अदुवाबाली अनुसन्धान कार्यक्रम, कपुरकोटका प्रमुख डा. घनश्याम भण्डारीलाई सम्मानसहित बिदाइ गरिएको कर्मचारी मिलन केन्द्रले जनाएको छ।
कार्यक्रममा विभिन्न सरकारी कार्यालयका प्रमुख, कर्मचारी, सञ्चारकर्मी, साहित्यकार तथा सरोकारवालाको उल्लेखनीय सहभागिता रहेको थियो।





.jpg)