ट्रेण्डिङ

होमपेज / कला/साहित्य

रगतले भिजेको जुत्ता

  सल्यान खबर डेस्क २०८२ भाद्र २४ गते मंगलबार १३:२०:५५ मा प्रकाशित

रगतले भिजेको त्यो जुत्ता,

अझै पनि कुनाबाट हेर्दै छ,

चुपचाप, केही नबोली,

तर उसका छेउमा गनाउँछ

कुनै अधुरो सपना, चिसो सासजस्तै।

यो जुत्ता कसको हो?

शान्तिको र्यालीमा हिँड्ने त्यो केटाको?

कि युद्ध विरोधी नारासँगै उभिएको आमाको?

कसको पाइला थामेको थियो यसले,

जो आज छैन, तर हावा अझै काँप्छ उनको नामले।

छेउमा पुलिसको बुट छ,

धुलोले पोतिएको, तर रगत छैन,

छेउछाउमा नाराहरू छन् ।

"न्याय देऊ!" "हाम्रो छोराछोरी फर्काइदेऊ!"

तर आवाज अब घुँडामा खसिसकेको छ।

रगतले भिजेको त्यो जुत्ता,

प्रश्न बनेर उभिएको छ सडकको बिचमा,

उत्तर चाहिँ सबैले चिन्दै नचिनेझैँ गर्छन्,

जसरी खूनको दाग लुकाइन्छ

सजावटका नारा र ब्यानरहरूमा।

शब्दहरू सकिन्छन्, आँसु सुक्छ,

तर त्यो जुत्ता, अझै भिजिरहेछ,

नयाँ लास, नयाँ विरोध, नयाँ खबरले।

शायद एक दिन, त्यो जुत्ता बोल्नेछ,

र भन्छ ....

"अब तिमीहरू पनि हिँड्ने बेला भयो।"

तारादेव शर्मा 

प्रतिक्रिया

सम्बन्धित खवर

Top