ट्रेण्डिङ

होमपेज / समाज

चार दशकदेखि टहरामा वास

  सल्यान खबर डेस्क २०८२ चैत्र १२ गते बिहीबार १३:४३:१३ मा प्रकाशित

सल्यानको कालीमाटी गाउँपालिका– ७ वनगाउँका जितबहादुर सार्कीको परिवार चार दशकदेखि टहरामा जीवन बिताउँदै आएको छ । आयआर्जनको माध्यम केही नभएपछि सार्कीको पाँचजनाको परिवार टहरोमै जीवन गुजारा चलाउँदै आएको हो ।

घना जंगलको बिचमा रहेको टहरो खुला भएकाले जंगलीको जनावरको त्रास पनि उत्तिकै छ । ‘वर्षात्को समयमा पानी र हिउँदमा हुरीबतास र चिसोले सताउँछ । जंगली जनावरले कतिबेला आक्रमण गर्ने हो भनेर मनमा चिसो बसिरहन्छ,’ सार्कीले भने ।

बाँके राष्ट्रिय निकुञ्जबाट छिरेको बाघले आतंक मच्चाइरहेका वेला उनको परिवार असुरक्षित छ । सरकारले आर्थिक अवस्था कमजोर भएका विपन्न, दलित समुदायलाई जनता आवास कार्यक्रममार्फत घर बनाउँदै आए पनि उनको परिवार भने छुट्दै आइरहेको छ ।

जितबहादुरले आयआर्जनका लागि छेवैमा सानो टहरो बनाएर गाईबाख्रा पालेका छन् । ‘आम्दानीको माध्यम अरु केही छैन । पुख्र्यौली सम्पत्ति छैन । ऐलानी जग्गामा लगाएको बाली जंगली जनावरले पाक्न नपाउँदै सखाप पार्छन्,’ उनले भने, ‘बाख्रा बेचेर र मजदुरी गरेर पाँचजनाको परिवारलाई बिहान बेलुकी छाक टार्न हम्मेहम्मे हुन्छ ।’

सरकारले घरबारविहीन दलित, विपन्न परिवारलाई घर बनाउने सुने पनि अहिलेसम्म कसैले सहयोग नगरेको सार्कीको गुनासो छ । आर्थिक अवस्था कमजोर भएका कारण विभिन्न किसिमको जोखिम मोलेर टहरोमा बस्दै आएका उनले घरनिर्माणका लागि सहयोग गर्न सम्बन्धित निकायसामु अपिल गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top