ट्रेण्डिङ

होमपेज / स्वास्थ्य

सल्यानको कपुरकोटका सुत्केरी आमाहरुलाई पोषण कोसेली झोला

  सल्यान खबर डेस्क २०८२ चैत्र ७ गते शनिबार १८:०२:१४ मा प्रकाशित

सल्यान, ७ चैत । 

 सुत्केरी आमा र बच्चाको सबल स्वास्थ्यका लागि सल्यानको कपुरकोट गाउँपालिकाले बृहत पोषण कार्यक्रम अन्तर्गत पोषण कोसेली बितरण गरेको छ ।

वडा नम्बर १ र २ भित्रका सुनौलो हजार दिनका ६८ जना आमाहरुलाई पोषण कोसेली स्वरुप झोला बितरण गरेको हो । सुत्केरी आमा र शिशुको पोषण स्थितिमा सुधार ल्याउने र पोषिलो खाने बानीको विकास गर्ने उदेश्यले पोषण कोसेलीको झोलामा चना, केराउ, सिमी लगायतका गेडागुडीहरू,सर्वोत्तम पिठो,साबुन ,नङकट सहित सरसफाईका सामाग्री सहितको सामाग्री राखेर पोषण कोसेली झोला बितरण गरिएको स्वास्थ्य शाखा प्रमुख सुवास हमालले जानकारी दिनुभयो । पोषण कोसेली झोला बितरण गर्दै गाउँपालिका अध्यक्ष दुर्गा बहादुर पुनले आमा र बच्चालाई स्वस्थ राख्न सकेमा मात्रै परिवार, समाज, समुदाय र सिङ्गो देशको विकास एवम् समृद्धिमा टेवा पुय्राउन सकिने बताउनु भयो । यही मान्यतालाई आत्मसाथ गर्दै गाउँपालिकाले सुत्केरी हुनुभएका आमाहरूलाई पोषणयुक्त खाना र सरसफाई सामग्री सहितको झोला कोसेली स्वरूप वितरण गरेको पुनको भनाई छ ।

यस्तै गाउँपालिका उपाध्यक्ष प्रकाश भण्डारीले सुनौलो हजार दिनको अवधिमा पोषण तथा सरसफाइको महत्व बुझाउन,स्वास्थ्य संस्थामा सुत्केरी हुनका लागि प्रोत्साहन गर्न एवम बालबालिकाको वृद्धि विकासमा सहयोग पुय्राउने लक्ष्य सहित सचेतनाका क्रियाकलापहरू स्वरुप बृहत पोषण कोसेली’ कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो । मातृ, नवजात शिशु तथा नाबालकको पोषण मार्फत होचोपन, पुड्कोपन र ख्याउटेपन न्यूनीकरण गर्ने र गम्भीर कुपोषणको व्यवस्थापन गर्ने उद्देश्य अनुरूप गाउँपालिकाले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको भण्डारीको भनाई छ । विशेष गरि बालबालिकाको सुरुवाती वर्षहरूमा पोषणमा गरिने लगानीले उनीहरू, उनीहरूका परिवार र समग्र समुदायलाई नै दीर्घकालीन प्रतिफल दिने भएकाले कपुरकोट गाउँपालिकाले ‘बृहत पोषण कोसेली’ कार्यक्रम सञ्चालन गरेको स्वास्थ्य शाखाले जनाएको छ ।।

प्रतिक्रिया

सम्बन्धित खवर

Top